दिपक बोहोरा,
इलाम । आयोजक माइभ्याली फुटबल क्लब इलाममा जारी छैटौँ संस्करणको माइभ्याली गोल्डकपमा त्रिभुवन आर्मीलाई सडनडेथमा ५– ४ गोलले हराउँदै फाइनलमा प्रवेश गरेको छ ।

फाइनलमा आयोजकले उपाधिका लागि ए डिभिजन लिग विजेता मच्छिन्द्र क्लबसँग शनिबार प्रतिस्पर्धा गर्नेछ । आयोजक पहिलोपटक फाइनल प्रवेश गरेको हो ।

बिहीबार ठुलो टुँडिखेलमा भएको सेमिफाइनलको निर्धारित ९० मिनेटको समय १-१ गोलको बराबरीमा सकिएको थियो । अतिरिक्त समयमा पनि बराबरीमा सकिएपछि खेल टाइब्रेकरमा गएको थियो ।

टाइब्रेकरमा आयोजक टिमका देव लिम्बु, एन्ड्रो थियर यिबाक, लिला क्षेत्री, पासाङ शेर्पाले गोल गर्दा शरण बस्नेतको प्रहार आर्मीका गोलरक्षक विवश चौधरीले बचाएका थिए । विशाल तामाङको प्रहार बाहिरिएको थियो ।

यता आर्मीको तर्फबाट दिपक गुरुङ, दिप लामा, राजीव गुरुङ र राजु आलेको प्रहार गोल हुँदा सन्तोष तामाङ, इश्वरी बानिया र भरत चौधरीको प्रहार गोल हुन सकेन ।

खेलको अतिरिक्त समयमा आर्मीका विवेक बस्नेतले दोहोरो पहेँलो कार्ड खाँदै बाहिरिएपछि आर्मी १० खेलाडीमा सीमित भएको थियो ।

त्यसअघि खेलको ३३औं मिनेटमा आर्मीका गोलरक्षक विवश बल नियन्त्रणको लागि अगाडि बढेको अवस्थामा माइभ्यालीका करण राइले गोल गर्दै आयोजकलाई अग्रता दिलाएका थिए । ४१ अ‍ैं मिनेटमा आर्मीका सन्तोष तामाङले बराबरी गोल गरेका हुन् । डि एरिया नजिक आयोजकका खेलाडीले आर्मीलाई फाउल गरे पछि पाएको फ्रि किकमा सन्तोषले गरेको प्रहार गोल भएको थियो ।

१७ औं मिनेटमा आर्मीका किपर बिट भइसकेको अवस्थामा आयोजकका विकास तामाङले गोल गर्न चुके । १८ मिनेटमा आर्मीका विवशले उत्कृष्ट पन्च गर्दै गोल बचाए ।

खेलमा तालमेल नमिल्दा पराजित सहनु परेको आर्मीका प्रशिक्षक नविन न्यौपानेले बताए । भाग्यले साथ दिँदा ऐतिहासिक सफलता प्राप्त गरेको आयोजक टिमका प्रशिक्षक दर्शन भक्तराजको भनाइ छ ।

माइभ्यालीका गोलरक्षक देब लिम्बु म्यान अफ दि म्याच बने । उनले नगर १५ हजार प्राप्त गरे । शनिबार मच्छिन्द्र क्लब र आयोजकबीचको गोल्डकप विजेताले ८ लाख र दोस्रो हुने टोलीले ५ लाख रुपैयाँ प्राप्त गर्नेछ ।