इलाम । माइभ्याली कपको छैटौं संस्करणको उपाधिको लागि आज शनिबार फाइनल खेल हुँदैछ । आयोजक माइभ्याली फुटबल क्लब र ए डिभिजन लिग विजेता मछिन्द्र क्लब फाइनल उपाधि रक्षा गर्दै इतिहास रच्ने दाउमा छन् ।

आयोजक माइभ्याली एफसी पहिलोपल्ट फाइनलमा पुगेको हो । त्यस्तै, पहिलोपल्ट नै सहभागिता जनाएको मच्छिन्द्र क्लबले पनि फाइनल भिडन्तलाई तयार गरेको छ । छैटौं संस्करणको माइभ्याली गोल्डकपले नयाँ च्याम्पियन पाउनेछ ।

शुक्रबार भएको प्रि म्याच कन्फरेसनमा बोल्दै दुवै टिमका प्रशिक्षकले उपाधिको लागि तयार भएको बताएका हुन् । उपाधिको लागि शनिबार ३ बजे इलामस्थित ठुलो टुडिखेलमा यि दुई टिम बिच प्रतिस्पर्धा हुनेछ । शनिबार हुने छैटौं संस्करणको फाइनलमा लिग विजेता मछिन्द्रले आयोजक टिम माइभ्याली फुटबल क्लबसंग प्रतिस्पर्धा गर्नेछ ।

मछिन्द्र सेमिफाइनलमा मानेभञ्जाङ फुटबल क्लबलाई हराउँदै फाइनल प्रवेश गरेको थियो । यता आयोजकले त्रिभुवन आर्मीलाई सडनडेथमा हराउँदै फाइनल प्रवेश गरेको हो । शनिबार हुने खेलमा मछिन्द्रलाई घरेलु दर्शक र घरेलु मैदानको दबाब हुनेछ । तर, मच्छिन्द्रमा झापाली खेलाडी भएकाले इलामेली दर्शकको साथ नरहला भन्न सकिन्न ।

यता आयोजक टिमले स्टार खेलाडी हेभिवेट टोलीको दबाब महसुस गर्न सक्नेछ । छैटौं संस्करणसम्म आइपुग्दा यी दुवै टिमले उपाधि जित्न सकेका छैनन् । दुवै टोली शनिबार माइभ्यालि गोल्डकपको नयाँ च्याम्पियन टिम बन्ने लक्ष्यसहित दुबै टिम मैदान उत्रने छन् ।

आयोजकले विभिन्न क्लबका खेलाडीहरु मिश्रणमा टिम निर्माण गरेको छ । जावलाखेलका विशाल तामाङ, फ्रेन्डस क्लबका देव लिम्बु र ब्रिगेड ब्वाइजको शिशिर लेखी लगायतको खेलाडीहरु समेटेर टिम निर्माण गरेको आयोजक मछिन्द्रलाई हराउँदै पहिलो पटक उपाधि जित्ने दाउमा रहेको छ ।

विदेशी खेलाडीहरुको भरमा खेल जित्ने लक्ष्यमा रहेको आयोजकलाई स्टार खेलाडीहरुले भरिएको मछिन्द्रलाई हराउन त्यति सहज भने छैन ।

‘फाइनल खेल आफैंमा दवाव हुन्छ । त्यहि माथि घरेलु टिमलाई हराउन उति सजिलो हुँदैन, ‘मछिन्द्रका प्रशिक्षक प्रबेश कटुवालले भने, ‘फाइनल खेल ५०–५० को हो । हामीसँग राम्रो टिम भएकाले टिमवर्क मिलेमा खेल जित्नेछौं । हाम्रो तर्फबाट एकदमै मेहनत गर्नेछौं ।’

घरेलु दर्शक र घरेलु मैदानका कारण कुनै दबाब नभएको आयोजक टिमका प्रशिक्षक दर्शन राजभक्त बताउँछन् । ‘घरेलु मैदानको फाइदा उठाउँदै उपाधि जित्ने लक्ष्य छ । विभिन्न ए डिभिजनका क्लबको अनुभव बटुलिसकेका खेलाडीहरु समेटदै टिम निर्माण गरेका छौं । घरेलु मैदानमा हामी उपाधि जित्न सक्षम छौं, ‘ उनले बताए ।

गोल्डकपको विजेताले ८ लाख र दोस्रो हुने टोलीले ५ लाख रुपैयाँ प्राप्त गर्नेछ ।