झापा । टाइब्रेकरमा सताक्षी स्पोर्टिङ क्लब झिलझिलेलाई पराजित गर्दै मुनाल क्लब चन्द्रगढी बुद्धशान्ति गाउँपालिका–४ सट्टाभर्नास्थित गणेश माध्यमिक विद्यालयको प्राङ्गणमा जारी वाइवाइ जिल्लास्तरीय नकआउट फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ ।

आज भएको पहिलो क्वाटरफाइनल खेलमा मुनाल क्लब चन्द्रगढीले ३–२ गोलअन्तरमा पराजित गर्दै चन्द्रगढीले उपाधिमाथि आफ्नो दाबेदारी प्रस्तुत गरेको हो ।

खेलको १४औँ मिनेटमा सताक्षी स्पोटिङ्गका सन्दिप बस्नेतले पहिलो गोल गरेका थिए । खेलको २६ औँ मिनेटमा मुनाल क्लब चन्द्रगढीका शक्ति राईले गोल गरे भने खेलको ५५ औँ मिनेटमा कर्ण लिम्बुर्ले टिमका लागि दोस्रो गोल दिलाए पनि सताक्षी स्पोर्टिङ्का बिक्रम राईले खेलको ५७औँ मिनेटमा गोल गर्दै खेललाई बराबरीमा पुर्‍याएपछि निर्णयका लागि खेल टाइब्रेकरमा गएको थियो ।

टाइब्रेकरमा मुनाल क्लब चन्द्रगढीका कर्ण लिम्बु ,श्याम मुर्मु, प्रबिन राईले गोल गरेका थिए भने सताक्षी स्पोर्टिङ्का लागि संजोक मगर र बिक्रम राईले एक-एक गोल गरे ।

खेलको म्यान अफ दि म्याच मुनाल क्लब चन्द्रगढीका गोलरक्षक बिप्लब गुरुङ घोषित भए । प्रतियोगितामा भोलि आइतबार पुर्वेली युथ क्लब बिर्तामोड र मेची नेत्रालय काँकरभिट्टाबीच हुनेछ ।

प्रतियोगिताको विजेताले नगद ५० हजार रुपैयाँ र उपविजेताले नगद ३० हजार रुपैयाँसहित ट्रफी, प्रमाणपत्र प्राप्त गर्ने आयोजक समितिका उपाध्यक्ष टेकेन भट्टराईले बताएका छन् ।