शनिश्चरे । झापाको अर्जुनधारा–९स्थित सिर्जना शिशु सदन अङ्ग्रेजी माध्यमिक विद्यालयका विद्यार्थीहरुलाई बाह्रघरे सितोरियो कराते डोजोले कोरोना भाइरस (कोभेड–१९) सम्बन्धी जानकारीसँगै मास्क वितरण गरेको छ ।
कार्यक्रमका प्रमुख अतिथि एसियन कराते रेफ्री कुमार उप्रेतीले छात्र कुनल चौधरी र छात्रा आयुषा कार्कीलाई मास्क हस्तान्तरण गर्दै कार्यक्रमको उद्घाटन गरेका थिए ।
कक्षा–८, ९ र १० का विद्यार्थीहरुको सहभागितामा शिक्षक विष्णु पोखरेलले कोभेड–१९ बारे जानकारी गराएको कार्यक्रममा ५० जनालाई मास्क वितरण गरिएको डोजोका प्रमुख प्रशिक्षक हेमलाल परियारले जानकारी दिए ।
डोजोका अध्यक्ष नारदमणी नेपालको अध्यक्षतामा आयोजित प्रमुख अतिथि उप्रेती, नरबहादुर खड्कालगायतले आफ्ना भनाइ राखेको कार्यक्रमको सञ्चालन विद्यालयका शिक्षक दिपेश पनेरुले गरेका थिए । सोही कार्यक्रममा विद्यालयका कक्षा नर्सरी र एलकेजीका विद्यार्थीहरुलाई डोजोकोतर्फबाट फलफूल वितरण गरिएको थियो ।
अध्यक्ष नेपालका अनुसार डोजोले पाँच सय विद्यार्थीलाई मास्क वितरण गर्ने योजना बनाएको छ । अर्जुनधारा नगरपालिकाको शंकराचार्य पीठ साधुटार र नवदुर्गा आधारभूत विद्यालयमा पनि मास्क वितरण गर्ने अध्यक्ष नेपालले जानकारी दिए ।