झापा । सहज जीत निकाल्दै मुनाल क्लब चन्द्रगढी बुद्धशान्ति गाउँपालिका–४ सट्टाभर्नास्थित गणेश माध्यमिक विद्यालयको प्राङ्गणमा जारी जिल्लास्तरीय नकआउट फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ ।

उपाधिको दाबेदार आयोजक सृजनशिल युवा समाजलाई आज बिहीबार सम्पन्न पहिलो सेमिफाइनल खेलमा चन्द्रगढीले गोलको वर्षा गरेको थियो । आयोजकलाई ६–१ को फराकिलो गोल अन्तरले सहजै पराजित गरेर चन्द्रगढीले उपाधि यात्रा तय गरेको हो ।

जितका लागि खेलको तेस्रो मिनेटमा चन्द्रगढीका बिकास राईले पहिलो गोल गरेका थिए । त्यस्तै खेलको १० मिनेटमा आयोजकका लागि बबिन बोहोराले एक गोल गरे भने खेलको ११ र १७औँ मिनेटमा चन्द्रगढीका शक्ति राईले व्यक्तिगत दुई गोल गर्दै टिमलाई अग्रता दिलाए । खेलको ४३ र ४८औँ मिनेटमा सबिन मगरले पुनः व्यक्तिगत दुई गोल गर्दै टिमलाई फराकिलो गोल अन्तरमा पुर्‍याए । त्यस्तै खेलको इन्जुरी समयमा चन्द्रगढीका प्रबिन राईले थप एक गोल गरे ।

खेलको म्यान अफ दि म्याच चन्द्रगढीका शक्ति राई घोषित भए । प्रतियोगितामा भोलि दास्रो सेमिफाइनल खेल पुर्वेली युथ क्लब बिर्तामोड र झापा एफसी राजगढबीच हुनेछ ।

प्रतियोगिताको विजेताले नगद ५० हजार रुपैँया र उपविजेताले नगद ३० हजार रुपैँयासहित ट्रफी, प्रमाण–पत्र प्राप्त गर्ने खेल संयोजक नरेन्द्रकुमार जवेगुले बताए ।