झापा । गणेश हेमरमको निर्णायक गोलसँगै झापा एफसी बुद्धशान्ति गाउँपालिका–४ सट्टाभर्नास्थित गणेश माध्यमिक विद्यालयको प्राङ्गणमा जारी जिल्लास्तरीय नकआउट फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ ।

उपाधिको दाबेदार पुर्वेली युथ क्लब बिर्तामोडलाई आज सुक्रबार सम्पन्न दोस्रो सेमिफाइनल खेलमा १–० को गोल अन्तरमा पराजित गर्दै झापा एफसी राजगढले उपाधिका लागि मुनाल क्लब चन्द्रगढी सँग भिड्ने पक्का भएको हो । फाइनल यात्रासँगै झापा एफसी राजगढले कम्तिमा नगद ३० हजार सुरक्षित गर्यो ।

झापा एफसीको जितका लागि खेलको ३९ औं मिनेटमा गणेश हेमरमले गरेको एकमात्र गोल पर्याप्त बन्यो । पुर्वेली युथ बिर्तामोडले केही राम्रा अवसर पाए पनि झापा एफसीका रक्षकले उत्कृष्ट बचाउ गरे ।

खेलको म्यानअफ दि म्याच झापा एफसीका अबिशेक गुरुङ्ग घोषित भए । फुटवलको माध्यमबाट सामाजिक विकृति, कुसस्कार, वेतिथि हटाउन चेतनामुलक कार्यक्रम सञ्चालन गर्ने र स्थानीय स्तरबाट राष्ट्रिय स्तरका खेलाडी उत्पादन गर्न सहयोग पुर्याउने प्रतियोगिताको लक्ष्य रहेको आयोजक समितिका अध्यक्ष शुकराज कार्कीले बताएका छन् ।

प्रतियोगिताको प्रत्येक खेलको म्यान अफ द म्याचको पुरस्कार स्थानीय हाल साउदी अरेवियामा रहेका सोनी कार्कीले र प्रतियोगिताको विभिन्न विद्याका पुरस्कार अमेरिकाबाट एसटी तामाङ्गले गर्ने आयोजकका सचिव निर्मल पराजुलीले बताएका छन् । ।

प्रतियोगिताको विजेताले नगद ५० हजार रुपैँया र उप–विजेताले नगद ३० हजार रुपैँया सहित ट्रफी, प्रमाण–पत्र प्राप्त गर्ने खेल संयोजक नरेन्द्र कुमार जवेगुले बताए ।