सर्लाही। विभागीय टिम पुलिसले चौथो संस्करणको राजर्षि जनक कप फुटबल प्रतियोगिताको उपाधि जितेको छ । भारत सिलगुढीको कञ्चनजंघा फुटबल क्लबलाई २–१ गोल अन्तरले पराजित गर्दै पुलिसले उपाधि उचालेको हो ।

आईतबार सर्लाहीको बागमतीमा भएको खेलको सुरुवातमै पुलिसले अग्रता बनाएको थियो । खेलको पहिलो मिनेट तीर्थ राना मगरले गोल गर्दै पुलिसलाई अग्रता दिलाएका थिए । पुलिसका कप्तान जुमानु राईले ११ औ मिनेटमा गोल गर्दै पुलिसलाई २–० ले अघि बढाए ।

पाहुना टोली कन्चनजंघाका अमिर लामाले १९ औ मिनेटमा गोल गर्दै टोलीलाई खेलमा फर्काउने कोशिश गरेका थिए । तर बाँकी समयमा दुवै पक्षबाट गोल हुन नसकेपछि पुलिस प्रतियोगिताको च्याम्पियन बनेको हो ।

उपाधिसंगै पुलिसले नगद १० लाख रुपैयाँ प्राप्त गर्यो । उपविजेता बनेको कन्चनगंघाले ५ लाख रुपैयाँमा चित्त बुझायो ।