काठमाडौं । राष्ट्रिय खेलकुद परिषद् (राखेप)ले आगामी साताका लागि निर्धारित अखिल नेपाल फुटबल संघ (एन्फा)को १९औं वार्षिक साधारणसभा स्थगित गरेको छ ।

नोवल कोरोना भाइरसको सम्भावित जोखिम न्यूनीकरणका लागि एन्फाले बी डिभिजन लिगसहितका सबै खेल, गोष्ठी, सभा स्थगित गरेको छ ।

राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव रमेशकुमार सिलवालको अध्यक्षतामा मङ्गलबार बसेको राखेपको बैठकले एक हप्ताका लागि सबै खेल गतिविधि बन्द गर्ने निर्णय गरेको छ । एन्फा महासचिब इन्द्रमान तुलाधरले एन्फाको १९औं साधारणसभा पनि अर्को सूचना जारी नभएसम्मका लागि स्थगित गरिएको जानकारी दिनुभयो ।

एन्फाको १९औं वार्षिक साधारणसभा चैत्त १६ गतेका लागि निर्धारण गरिएको थियो । एन्फाको साधारणसभामा विश्व फुटबलका सर्वोच्च निकाय (फिफा) र एशियाली फुटबल संघ (एएफसी)का प्रतिनिधि उपस्थित हुन अस्वीकार गरेपछि एन्फाको साधारणसभा तात्कालका लागि स्थगित गरिएको हो ।

बैठकमा बी डिभिजन लिग, प्रशिक्षण लगायतका खेलकुद गतिविधिबारे छलफल भएको थियो ।

एन्फाका अनुसार बैठकबाट एन्फा प्राविधिक केन्द्र, धरान र बुटवल लगायत सातदोबाटोस्थित एकाडेमी र एन्फा सचिबालय पनि बन्द गर्ने निर्णय भएको हो । चैत्त १२ गतेसम्मका लागि एन्फासँग सम्बन्धित सबै गतिविधि बन्द गर्ने निर्णय भएको महासचिब तुलाधरले जानकारी दिनुभयो ।

महासचिब तुलाधरले कार्यालय सम्बन्धि गतिविधि घरबाट इ मेलमार्फत् गर्न गराउन सबै संघ–संस्था, खेलाडी, रेफ्री, क्लब, जिल्ला फुटबल संघलाई आग्रह गरेको बताउनुभयो ।