काठमाडौं । सरकारले सिनेमाहल, सांस्कृतिक केन्द्रहरू, रंगशाला, खेलस्थल र मनोरञ्जन लगायतकास्थलहरू आगामी वैशाख १८ गतेसम्मका लागि वन्द गर्ने निर्णय गरेको छ ।

कोरोना भाइरस संक्रमण, रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिको आज सिंहदरबारमा बसेको बैठकले सिनेमाहल, सांस्कृतिक केन्द्रहरू, रंगशाला, खेलस्थल र मनोरञ्जन स्थल, म्युजियम, जिम, हेल्थ क्लब, स्विमिङ्ग पुल, डान्सवार तथा क्लवलाई आगामी वैशाख १८ गतेसम्म बन्द गर्ने र यसको अनुगमन गृह, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन र सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले गर्ने निर्णय गरिएको बैठक पछि सञ्चार तथा सूचना प्रविधि मन्त्री डा। युवराज खतिवडाले जानकारी दिनुभयो ।

यसैगरी बैठकले भोलिदेखि सञ्चालन हुने एसईई परीक्षा प्रत्येक केन्द्रहरूमा स्वास्थ्य जाँच सहितको हेल्थ डेस्क स्थापना गरी सुरक्षित एवम् व्यवस्थित रूपमा सञ्चालन गर्ने निर्णय गरेको छ । बाल विकास केन्द्र, आधारभूत तथा माध्यामिक विद्यालयहरू र विश्वविद्यालयहरूका पठनपाठन यही चैत्र मसान्तसम्मका लागि बन्द गर्ने निर्णय गरेको छ ।