भीमकुमार बाँस्कोटा,
फिदिम । पूर्वी पहाडकै प्रतिष्ठित फाल्गुनन्द गोल्डकप फुटबल प्रतियोगिता यो वर्ष सञ्चालन हुन सकेन। प्रतियोगिता रोकिनुको कारण कोरोना भाइरसको त्रास नभएर मैदान अभावले हो। पाँचथर सदरमुकाम फिदिममा पुसको पहिलो साताबाट सुरु हुने यो गोल्डकपको ११औं संस्करण फिदिम माविको मैदान भत्किएपछि सञ्चालन हुन नसकेको हो।

‘अहिले कोरोना भाइरसको त्रासका कारण देशभर खेलकुद र गोल्डकपहरू प्रभावित छन्। फाल्गुनन्द गोल्डकप भने मैदान अभावले प्रभावित बन्यो। फिदिम स्पोर्टिङ क्लबले फाल्गुनन्द गोल्डकप सञ्चालन गर्दै आएको थियो। कोरना भाइरसको महामारी फैलनुभन्दा पहिले नै सम्पन्न हुनुपर्ने यो गोल्डकप फिदिममा भएको एकमात्र मैदान भत्किएपछि रोकिएको हो। मैदानको छेउपट्टिको दुई भागमा पर्खाल भत्किएको छ,’ फिदिम स्पोर्टिङ क्लबका अध्यक्ष विमल श्रेष्ठले भने।

पर्खाल भत्किएपछि कुनै पनि खेल हुन सकेका छैनन्। पाँचथर क्लबले आयोजना गर्ने पाँचथर गोल्डकप पनि रोकिएको छ। गत असार ७ गते मैदानको पर्खाल भत्किएपछि फिदिमको फुटबल खेल नै ठप्प भएको छ। विकल्पमा अर्को मैदान नभएकाले प्रतियोगिता नै रोकिएको अखिल नेपाल फुटबल संघ पाँचथरका अध्यक्ष सुजन नेम्बाङको तर्क छ। ‘पाँचथरमा खेलप्रतिको आकर्षण व्यापक छ,’ नेम्बाङले भने ‘तर, मैदान अभावले खेल खुम्चिरहेको छ।’ पहाडी जिल्लामा खेल क्षेत्रको विकासका लागि राज्यले गम्भीरताका साथ चासो दिनुपर्ने उनको भनाइ छ।

जिल्लामा खेलप्रतिको आकर्षण धेरै छ। तर, खेलका लागि पूर्वाधार अभावका कारण जिल्लामा आयोजना हुने प्रतियोगिताहरू खुम्चिँदै गइरहेका छन्। फिदिम माविको स्वामित्वमा भएको यो मैदान पनि नौ जनाले मात्र फुटबल खेल्न मिल्नेछ। विगतमा धुलेमैदानमा कष्टपूर्ण तरिकाले फुटबल खेल हुने गरेको थियो। यो मैदानको पर्खाल भत्किएपछि सबै खेल ठप्प बनेका छन्। खेलप्रतिको आकर्षण व्यापक भए पनि स्तरीय मैदान अभावले खेल प्रतिभाहरू पलायन हुने स्थिति बनेको छ।

जिल्लामा प्रतिभाहरू धेरै भए पनि पूर्वाधार अभावमा पलायन हुने स्थिति बनेको फुटबल खेलाडी शरण बस्नेतले बताए। ‘मजस्ता फुटबल खेलाडी धेरै उत्पादन हुन सक्छन्,’ बस्नेतले भने ‘तर, यहाँ पूर्वाधार नभएकै कारण खेल प्रभावित भएको छ।’ जिल्लामा खेलसम्बन्धीका तालिमहरू नभएको र व्यवस्थापनको कमजोरीका कारण जिल्लाको खेल खुम्चिँदै गएकोप्रति बस्नेत चिन्तित छन्। खेल क्षेत्रको विकासका लागि राज्य उदासीन भएकाले क्रमिक रूपमा खेल खुम्चँदै गएको खेलप्रेमीहरू बताउँछन्। ‘यस्तै ताल हो भने नयाँ प्रतिभा उत्पादन हुन सक्दैन,’ बस्नेत भन्छन्।

जिल्लाका आठवटै स्थानीय तहमा स्तरीय मैदानको अभाव छ। फिदिम नगरपालिका १० को खलंगाटारमा ठूलो (११/११ जना) खेल्न मिल्ने मैदान छ। खलंगाटार माविको स्वामित्वमा रहेको यो मैदानलाई रंगशालाको रूपमा विकास गर्ने भनिएपछि स्तरवृद्धि गरिएको छैन। रविपञ्चमी, नवमीडाँडा, याशोक, रानीटार, फात्तेप र लिम्बामा पनि नौ जना खेल्न मिल्ने धुले मैदान छन्। जिल्लामा खेलको विकासका लागि राज्यले ध्यान दिनुपर्ने खेलाडीहरूको माग छ। अन्नपूर्ण पोष्टबाट