काठमाडौँ । शहिद स्मारक ‘ए’ डिभिजन लिगको विजेताको ट्रफी उचालेपछि मच्छिन्द्र क्लबका कप्तान सुजल श्रेष्ठको योजना बैशाखमा सबै खेलाडीको अनुबन्ध थपेर राष्ट्रिय लिगको उपाधि जित्ने थियो।

चैत्रमा खेलाडीहरूको क्लबसँगको अनुबन्ध समाप्त हुँदै थियो। तर, कोरोनाभाइरस सङक्रमणले विश्व आक्रान्त भएपछि नेपाली खेलकुद पनि ठप्प हुँदा खेलाडीहरूको त्यो सपना अधुरै हुन पुग्यो।

राष्ट्रिय टोलीका समेत कप्तान रहेका श्रेष्ठले भन्छन्, ‘कोरोनाभाइरसले चार वर्ष अगाडिको भूकम्पको याद आयो। खेलाडीहरू बेरोजगार हुने डर लागेको छ।’

भूकम्प सम्झना
विसं २०७२ मा भूकम्पका कारण काठमान्डूको दशरथ रङ्गशाला र अन्य मुख्य खेल पूर्वाधारमा क्षति पुग्दा ए डिभिजन लिगसहित फुटबल गतिविधि चार वर्षका लागि रोकिएको थियो।

श्रेष्ठ भन्छन् ‘खै, अब फेरि के के हुने हो।’ लिग नहुँदा त्यतिबेला खेलाडीहरू बेरोजगार बन्न पुगेका थिए र कतिपय राष्ट्रिय टोलीका खेलाडीहरू वैदेशिक रोजगारीका लागि गएका थिए।

कोरोनाभाइरसले भने भूकम्पले जस्तो दीर्घकालीन असर नपर्ने अखिल नेपाल फुटबल सङ्घ एन्फाका अध्यक्ष कर्मा छिरिङ शेर्पा बताउँछन्।

उनी भन्छन्, ‘भूकम्पजस्तो लामो असर त पक्का पनि पर्दैन। तर फुटबलको तालिका तथा आर्थिक अवस्था प्रभावित हुन सक्छ।’

असर कस्तो पर्छ ?
नेपालमा फुटबल क्षेत्रले कम्तीमा २,००० बढी खेलाडी र प्राविधिकले प्रत्यक्ष रोजगारी पाउँदै आएको छ भने झन्डै १०,००० ले अप्रत्यक्ष रोजगारी पाएका छन्।

फुटबलमा वार्षिक करोडौँ रुपैयाँको आर्थिक कारोबार हुने गरेको छ।

‘ए’ डिभिजन क्लबले खेलाडीहरूलाई मासिक ४०,००० देखि १००,००० रुपैयाँसम्म तलबमा अनुबन्ध गरेका छन्।

‘बी’ र ‘सी’ डिभिजन क्लबहरूले पनि सिजनल रूपमा खेलाडीहरूलाई अनुबन्ध गर्छ। तर, लिग सञ्चालन नभए धेरै खेलाडीहरूले त्यो रोजगारी गुमाउने पक्का छ।

मच्छिन्द्र क्लबका व्यवस्थापक अनिल श्रेष्ठ भन्छन्, ‘फुटबल गतिविधिविना क्लबले खेलाडी अनुबन्ध गर्ने कुरै भएन। एन्फाले निकाल्ने क्यालेन्डरको आधारमा हामी सोच्नेछौँ।’

जिल्लामा हुने नकआउट फुटबल प्रतियोगिताहरू नहुँदा खेलाडीहरूले ती प्रतियोगिता खेलेर कमाउने आम्दानी पनि गुमाएका छन्।

तर, भूकम्पको असर र अहिलेको अवस्था भने फरक भएको फुटबल अधिकारीहरू बताउँछन्।

शहिद स्मारक लिग फुटबलका निर्देशक सञ्जिव मिश्र भन्छन्, ‘त्यतिबेला कतिपय खेलाडीहरू रोजगारीका लागि विदेशिएका थिए।’

‘अहिले त विदेशमै रोजगारीको समस्या भइसक्यो। खेलाडीहरु कहाँ जाने ?’

विदेशमा खेल्नेहरु
देशभित्र मात्र होइन, विदेशमा खेलिरहेका खेलाडीहरुमा पनि यसको असर परेको छ।

भारतको आईलिग फुटबल टोली पञ्जाव एफसीमा खेलिरहेका राष्ट्रिय टोलीका गोलकिपर किरण चेम्जोङ र इन्डोनेसियाको लिग पर्सिजा एफसीमा खेलिरहेका रोहित चन्दको व्यावसायिक जीवनमा असर पर्ने देखिएको छ।

विमल घर्तीमगर माल्दिभ्सको टीसी स्पोर्ट्स क्लबमा आबद्ध छन्।

आर्थिक प्रभाव
कोरोनाभाइरसका कारण समग्रमा एन्फाकै आर्थिक आम्दानीमा असर पर्ने निश्चित छ।

अध्यक्ष शेर्पाले विश्व फुटबल महासङ्घ फिफा र एशियाली फुटबल महासङ्घ एएफसीबाट पाउने आर्थिक अनुदानमा असर पर्ने सम्भावना देख्छन्।

विश्वभरका फुटबल गतिविधि रोकिँदा फिफाको आम्दानीमा असर परिसकेको छ।

फिफा र एएफसीले एन्फालाई प्रशासनिक र विकासका निम्ति वार्षिक २० करोड रुपैयाँभन्दा बढी रकम प्रदान गर्दै आएको छ।

एन्फा अध्यक्ष शेर्पा सामान्य अवस्थामा फर्किनासाथ फुटबलको गतिविधि पुनस् सञ्चालन हुने बताउँछन्।

उनले भने, ‘अन्तर्राष्ट्रिय निकाय, सरकारले स्वीकृति दिनासाथ जहाँ फुटबल रोकिएको थियो, त्यहाँबाट शुरू गर्नेछौँ।’ बीबीसी