झापा । कोभिड १९ अर्जुनधारा सहयोगी टिमले अर्जुनधारामा रहेको एक प्राथमिक विद्यालयमा अध्ययनरत विद्यार्थीका अभिभावकलाई राहत सामग्री प्रदान गरेको छ ।

टिमले अर्जुनधारा ८ मा रहेको चन्द्रोदय प्राविमा अध्ययनरत २५ जना विद्यार्थीका अभिभावकलाई राहतस्वरुप खाद्यान्न सामग्री प्रदान गरेको हो । टिमका सदस्य कमल पोख्रेलका अनुसार खाद्यान्नमा १५ केजी चामल, एक एक केजी दाल, नून, न्युटेला र एक लिटर खानेतेल रहेको छ ।

टिमले वडा नम्बर ८ सँग समन्वय गरी वडाध्यक्ष गोपीचन्द्र गौतमको प्रमुख आतिथ्यमा एक कार्यक्रमबीच सामाजिक दूरी राखेर खाद्यान्न वितरण गरेको थियो । टिमका संयोजक तारा खतिवडाको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन विद्यालयका प्रधानाध्यापक टंक आचार्यले गरेका थिए ।

टिमले अहिलेसम्म नगरका ५ सयभन्दा बढी परिवारलाई खाद्यान्न सामग्री उपलब्ध गराएको सदस्य पोख्रेलले जानकारी दिए । टिमले अर्जुनधारा नगरलाई लक्षित गरी विपन्न विद्यार्थीका परिवारलाई खाद्यान्न प्रदान गर्दै आएको बताइएको छ ।