झापा । प्रदेश सरकारले सबै स्थानीय तहका सामुदायिक विद्यालयमा नर्सिङ सेवा कार्यक्रम लागू गर्ने भएको छ । यसअघि नमुनाका रुपमा सञ्चालित कार्यक्रमलाई निरन्तरता दिँदै प्रदेश सरकारले नर्सिङ सेवा कार्यक्रम विस्तार गर्ने भएको हो ।

किशोर–किशोरीको यौन तथा प्रजनन स्वास्थ्य सुधारको आवश्यकता महसुस गरी तीन वर्षअघि संघीय सरकारको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले ‘एक विद्यालय एक नर्स’ कार्यक्रम सञ्चालनमा ल्याउने योजना बनाएको थियो ।

प्रदेश सरकारले त्यसलाई पछ्याउँदै पहिलो चरणमा प्रदेश भरिका १४ जिल्लाका एउटा विद्यालयमा ‘विद्यालय नर्सिङ सेवा’कार्यक्रम सञ्चालन गरेको थियो । दोस्रो चरणमा ४२ विद्यालय थप गरिएका थिए ।

विद्यार्थीको स्वास्थ्य, पोषण तथा सरसफाईमा सुधारका लागि विद्यालय नर्सिङ सेवा कार्यक्रम सबै स्थानीय तहमा पुग्ने गरी विस्तार गर्ने प्रदेश सरकारका अर्थमन्त्री इन्द्र आङवोले बताए । बालबालिकाको सामाजिक व्यवहार परिर्वतनका लागि कार्यक्रमले सकारात्मक प्रभाव छोडेपछि प्रदेश सरकारले यसलाई सबै विद्यालयमा विस्तार गर्ने तयारी गरेको हो ।

प्रदेशका सामुदायिक विद्यालयमा नर्सिङ सेवा कार्यक्रम सञ्चालनका लागि प्रदेश सरकारले सात करोड रुपैयाँ बिनियोजन गरेको छ । सामुदायिक विद्यालयमा नर्स राखेर त्यहीबाट निःशुल्क औषधिसहितको सम्पूर्ण प्राथामिक उपचारका साथै परिवर्तित जीवन शैली, खानपान, रहनसहन, प्रजनन् स्वास्थ्य शिक्षा जस्ता बिषयमा विद्यार्थीलाई ज्ञान दिने गरिएको छ ।

कार्यक्रमअन्तर्गत विद्यार्थीलाई स्वास्थ्य उपचार बाहेक परिवार नियोजन, यौन तथा यौनिकता, व्यक्तिगत र वातावरणीय सरसफाइ तथा फोहोरमैला व्यवस्थापन सम्बन्धी परामर्श दिने गरिएको छ ।