इलाम । नेपाल-भारत मैत्री विकास सहकार्य कार्यक्रमअन्तर्गत नेपाली ३१.१३ मिलियन लागतमा इलामको साविक बरबोटे गाउँ विकास समितिमा श्री सप्तमाई गुरुकुल संस्कृत विद्यालयको निर्माण भएको छ ।

विद्यालयको औपचारिक उद्घाटन बरबोटे गाउँ विकास समिति, विद्यालय व्यवस्थापन समिति र भारतीय राजदूतावासका प्रतिनिधिहरुद्वारा आज भिडियो कन्फरेन्समार्फत गरिएको छ।

सन् २००९ मा प्राथमिक विद्यालयको रुपमा स्थापित यस विद्यालय सन् २०१५ मा माध्यमिक तहमा स्तरोन्नति भएको थियो । विद्यालयमा अध्ययनरत विद्यार्थीहरुलाई वैदिक तथा आधुनिक शिक्षा संस्कृत भाषामा पनि अध्यापन गराइनु विद्यालयको नवीनतम पक्ष हो ।

इलामसँग जोडिएका अन्य जिल्लाहरुबाट आएका विद्यार्थीहरुका लागि विद्यालयले आवासीय सुविधा प्रदान गर्दछ ।

भारत सरकारको आर्थिक सहयोगमा निर्मित यस चार तल्ले भवनमा विद्यालय तथा छात्रावास ब्लक रहेका छन् । जसमा दश वटा कक्षाकोठा, आवासीय विद्यार्थीका लागि नौ वटा सयन कक्ष, चार वटा अध्ययन कक्ष, वार्डेन कार्यालय, एउटा बैठक कक्ष, एउटा साझा हल, तीन वटा भण्डारण कक्ष र प्रत्येक तल्लामा छात्र र छात्राका लागि छुट्टै सरसफाईका सुविधाहरु रहेका छन् । जिल्ला समन्वय समिति ईलामले यस परियोजनाको कार्यान्वयन गरेको हो ।

यस नवनिर्मित संरचनाले विद्यार्थीहरुको सिकाई वातावरणलाई अभिवृद्धि गर्ने अपेक्षा गरिएको छ । शिक्षाको क्षेत्रमा पूर्वाधार विस्तार गर्ने नेपाल सरकारको प्रयासलाई पुरा गर्ने सहयोगीको रुपमा रहेको यस परियोजनासँग भारत सरकार र जनताको तर्फबाट जोडिन पाएकोमा भारतीय दूतावासले खुशी व्यक्त गरेको छ ।