काठमाडौं । राष्ट्रिय खेलकुद परिषद् (राखेप)का ३३ जना कर्मचारी तथा प्रशिक्षकले विभिन्न खेलकुद संघबाट राजीनामा दिएका छन् ।

खेलकुद ऐन २०७७ कार्यान्वयनमा आएसंगै उनीहरुले राष्ट्रिय संघबाट राजीनामा दिनुपरेको हो । नयाँ ऐनले परिषद्का बहालवाला सदस्य सचिव, कर्मचारी तथा प्रशिक्षकलाई खेल संघका कुनैपनि पदमा बस्न नमिल्ने प्रावधान राखेको छ ।

नयाँ ऐन गत बिहिबारबाट कार्यान्वयनमा आएसँगै राष्ट्रिय संघहरुमा आबद्ध राखेपका कर्मचारी र प्रशिक्षकले राजीनामा दिएका हुन् ।

परिषद्का कर्मचारी तथा प्रशिक्षक राष्ट्रिय संघमा आबद्ध हुँदा स्वार्थ बाझिने र त्यसको असर खेलकुद गतिविधि तथा संघहरुमा देखिएको भन्दै खेलकुद ऐनले नयाँ व्यवस्था गरेको हो ।

ऐनमा परिषद्का बहालवाला सदस्य सचिव, कर्मचारी तथा प्रशिक्षक खेल संघको कुनै पदमा रहेको प्रमाणित भएमा सम्बन्धित संघले वैधता प्राप्त गर्न नसक्ने र त्यस्ता सदस्य सचिव, कर्मचारी तथा प्रशिक्षकलाई प्रचलित कानून बमोजिम कारबाही गरिने व्यवस्था गरिएको छ ।