काठमाडौं । प्याब्सन र एन प्याब्सनले भोलि बिहीबारदेखि पठनपाठनको सबै कार्यक्रम स्थगित गर्ने निर्णय गरेको छ ।

दुई संगठनको आज बसेको बैठकले पठन पाठना ठप्प पार्ने निर्णय गरेको हो । सरकारले निजी विद्यालयको विषयमा कुनै निर्णय गर्न नसकेपछि ठप्प पार्ने निर्णय गरेको दुई संस्थाका अधिकारीले जनाएका छन् ।

उनीहरुले असार १ गतेबाट औपचारिक रुपमा सञ्चालन गरेका अनलाईन र टेलिभिजनबाट सञ्चालन भैरहेको भर्चुअल कक्षा ठप्प पार्ने निर्णय गरेको हो ।

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री गिरिराजमणी पोखरेलले ढाटेको आरोप लगाउँदै सबै कार्यक्रम स्थगित गरेको हो । दुई संस्थाले सेन्ट जेभियर्स, बुढानिलकण्ठ लगायत शैक्षिक गुठीबाट सञ्चालन भैरहेका विद्यालयका पठनपाठन समेत ठप्प पार्ने घोषणा गरेको हो ।

सरकारले माग पुरा नगरेको कारण बाध्य भएर आन्दोलनमा उत्रेका प्याब्सन र एन प्याब्सनले अहिले केहीबेरमा विज्ञप्ति जारी गर्ने भएका छन् ।