झापा । कतारमा हुने फिफा विश्वकप २०२२ मा समूह चरणमा एकै दिन ४ वटासम्म खेल हुने भएका छन् ।

विश्व फुटबलको सर्वोच्च निकाय फिफाले सार्वजनिक गरेको खेल तालिका अनुसार समूह चरणमा एकै दिन ४ खेल हुने भएको छ ।

उक्त तालिका अनुसार समूह चरणका सम्पूर्ण खेल १२ दिनको अन्तरालमा समाप्त हुनेछ । स्थानीय समयअनुसार दिउँसो १ बजे, ४ बजे, साँझ ७ बजे र रातको १० बजे खेल हुनेछन् ।

प्रतियोगिताका खेल हुने ८ रंगशालाहरु एक आपसमा ४० माइलको दूरीमा रहेका छन् । समर्थक र पत्रकारले मैदानमै पुगेर २ खेलसम्म हेर्न सक्नेछन् ।

समूह चरणमा तीन खेलबाहेक हरेक टोलीले ३ दिनको विश्राम प्राप्त हुनेछ । विश्वकपको उद्घाटन समारोह ६० हजार दर्शक क्षमता भएको अल खोरस्थित अल बयत रंगशालामा २१ नोभेम्बरमा हुनेछ ।

प्रतियोगिताको फाइनल खेल दोहास्थित लुसेल रंगशालामा सन् २०२२ को १८ डिसेम्बरमा हुनेछ ।