अर्जुनधरा । निजी विद्यालयहरुको संगठन प्याब्सन र एनप्याब्सन अर्जुनधारा नगर समितिले अर्जुनधारा नगरपालिकालाई ध्यानाकर्षण पत्र बुझाएका छन् ।

संगठनको केन्द्रीय नेतृत्वले निजी विद्यालयले अनलाइन कक्षासहित सबै वैकल्पिक शिक्षण सिकाईका क्रियाकलापहरु स्थगन गर्ने निर्णय गरेअनुसार नगर समितिले नगरपालिकाभित्र रहेका निजी बिद्यालयहरुका सबै अनलाइन कक्षा स्थगन गर्ने भन्दै ध्यानाकर्षण गराएको हो ।

शुक्रबार नगर क्षेत्रका शैक्षिक गतिविधि बन्द गर्ने जानकारी सहितको ध्यानाकर्षण पत्र नगर प्रमुख हरिकुमार रानालाई संगठनका प्रतिनिधिले बुझाएका हुन् ।

प्याब्सन अर्जुनधारा अध्यक्ष रुद्रप्रसाद सिटौला र नगर सचिव राजेशकुमार आर्चायद्वारा हस्ताक्षिरत पत्रमा कोभिड १९ बाट सिर्जित समस्याको समाधान खोज्नु पर्ने उल्लेख छ ।

संगठनले वैकल्पिक शिक्षण सिकाई क्रियाकलाप स्थगन गर्ने र शिक्षक तथा कर्मचारीलाई बेतलवी घर विदा दिने निर्णय गरेको उनीहरुले जनाएका छन् ।

कोरोना महामारीका कारण चैत्रदेखि सुरु भएको लकडाउनपछि पठनपाठन बन्द रहेको अवस्थामा अनलाइनमार्फत पठनपाठन गरे पनि आयश्रोतको अभावमा शिक्षक–कर्मचारीलाई तलब दिन नसकिएकाले बैकल्पिक शिक्षण सिकाइलाई निरत्नरता दिन नकिएको बताइएको छ ।

‘घरभाडा, बैंकको किस्ता तथा ब्याज, बिमा, टेलिफोन, बिजुली, इन्टरनेट इत्यादि खर्च धान्न नसक्ने गरी विद्यालयहरुको आर्थिक अवस्था जर्जर रहेको छ’, विज्ञप्तिमा उल्लेख छ ।