बिर्तामोड । झापामा फुटबल प्रशिक्षण प्रतिष्ठान सञ्चालनमा आउने भएको छ । झापा ११ फुटबल क्लबले ‘एकाडेमी’ सञ्चालनमा ल्याउन लागेको अध्यक्ष जलकुमार गुरुङले जानकारी दिए ।

शनिबार बिर्तामोडको डोमालाल राजवंशी रंगशालामा पत्रकार भेटघाट कार्यक्रमको आयोजना गरेर झापा ११ ले एकाडेमी सञ्चालनमा आउने जानकारी दिएको हो । त्यसका लागि प्रक्रिया अघि बढाइएको छ ।

अध्यक्ष गुरुङका अनुसार पाँच करोड रुपैयाँको लगानीमा एकाडेमी सञ्चालनमा आउनेछ । प्रशिक्षक, खेलाडी तथा प्राविधिकसँगको परामर्शपछि एकाडेमी सञ्चालनको तयारी सुरु गरिएको हो ।

क्लबलाई आगमी दिनमा अझ मजबुद बनाउन तथा खेलाडी उत्पादनको उद्देश्य राखेर एकाडेमी सञ्चालन गर्न लागिएको अध्यक्ष गुरुङले बताए ।

‘एकाडेमी नहुँदा क्लबका लागि खेलाडीको अभाव देखियो’, गुरुङले भने, ‘भाडामा खेलाडी किनेर कति दिनसम्म खेल्नु ?’ एकाडेमीबिना खेलाडी उत्पादन गर्न सम्भव नभएकाले झापा ११ ले एकाडेमी सञ्चालन गर्न लागेको हो ।

त्यसका लागि प्रशिक्षकसँग पनि सल्लाह गरिएको छ । लिग विजेता मच्छिन्द्र क्लबका मुख्य प्रशिक्षक प्रवेश कटवाल र बाँसबारी क्लबका मुख्य प्रशिक्षक युगलकिशोर राई एकाडेमीमा आवद्ध हुने गुरुङले संकेत गरेका छन् ।

झापाका उनीहरु दुवै यसअघि झापा ११ का प्रशिक्षक थिए । झापा ११ का पूर्वखेलाडी उनीहरु एएफसी ए लाइसेन्स प्राप्त प्रशिक्षक हुन् ।

प्रशिक्षक कटवालले एकाडेमी भएपछि खेलाडीमा सीपको विकास हुने र अझ तिखारिएर जाने बताए । त्यस्तै, क्लब पनि मजबुद हुने र क्लबका लागि खेलाडी संकलन गर्न नपर्ने उनको धारणा छ ।

प्रशिक्षक राईले एकाडेमी भएपछि क्लब पृथक र व्यावसायिक हुने बताए । उनले लामो उद्देश्य राखेर परिवर्तनका लागि एकाडेमीको योजना बनेको सुनाए ।