झापा । प्रदेश नम्बर १ मै कोरोनाको इपिसेन्टर बनेको कचनकवल गाउँपालिकाका केही निजी विद्यालयहरुले जबरजस्त कक्षा सञ्चालन गरेको पाइएपछि पालिकाले बन्द गराएको छ ।

पालिकाभित्र रहेका सामुदायिक तथा संस्थागत विद्यालयहरुले समुदायमा आधारित रहेर सिकाई केन्द्रहरुमार्फत बैकिल्पक सिकाई सहजीकरण गर्नुपर्नेमा विद्यालय नै खोलेर कक्षा सञ्चालन गर्न सुरु गरेपछि बन्द गराइएको गाउँपालिकाका अध्यक्ष अञ्जार आलमले बताए ।

‘लकडाउन खुले पनि कोडिभ–१९ को जोखिम झन बढेर गइरहेको छ, यस्तो बेलामा विद्यालय खोली पठनपाठन गर्ने कुरै आउँदैन, उनले भने, ‘विद्यालयले आफ्नो क्षेत्रमा सिकाई केन्द्रहरु स्थापना गरी थोरै संख्यामा बैकल्पिक सिकाइमा सहजीकरण गर्नुपर्छ ।’

पालिकाको शिक्षा शाखाले केही दिनअघि गरेको अनुगमनका क्रममा वडा नम्बर २ र वडा नम्बर ७ मा रहेका निजी विद्यालयले कक्षा कोठाभरि विद्यार्थी राखेर पठनपाठन गरिरहेको पाएपछि बन्द गराएको थियो । शाखाले सूचना नै प्रकाशन गरेर विद्यालय खोली पठनपाठन नगर्न नगराउन अनुरोध गरेको छ ।

झापामा हालसम्म कोरोना संक्रमितको संख्या ३४६ जना रहेको छ । जसमध्ये निको भएर ३०४ जना घर फर्किएको स्वास्थ्य कार्यालय झापाका फोकल पर्सन जीवन चौलागाईले बताए । कचनकवल गाउँपालिकाका मात्र १३५ जना कोरोना संक्रमित मध्ये निको भएर १३४ जना फर्किसकेका छन् । रासस