धरान । सरकारले साउन ५ गते लकडाउन अन्त्यको घोषणा गरेपनि धेरै जमघट हुने थलो जिम हल, सिनेमा हल लगायत थुप्रै ठाउँहरु सञ्चालन गर्न भने रोक लगाएको थियो।

कोरोना संक्रमण फैलिन नदिन सरकारले गरेको यो निर्णय विपरीत गुपचुपरुपमा चलेको धरानको एक फिटनेस सेन्टरमा धाउनेहरुमा अहिले धमाधम संक्रमण देखिन थालेको छ।

धरान ८ भोटेपुलस्थित बोनस मलमा रहेको क्रञ्च फिटनेस जानेहरु ६ जनामा संक्रमण पुष्टि भइसकेको छ। ती मध्ये ३ जना युवा छन् भने ३ जना महिला छन्। सबैभन्दा पहिला साउन १४ गते धरान १३ का एक युवालाई संक्रमण देखिएको थियो। उनी बिहानको समयमा फिटनेस जाने गरेका थिए।

उनलाई संक्रमण पुष्टि भएपछि क्रञ्च बन्द भयो, तर तत्काल फिटनेस जानेहरु सबैको कन्ट्याक ट्रेसिङ गरेर पिसिआर परीक्षण नगरिदा संक्रमण समुदायस्तरमा नै पुगेको छ।

उपमहानगरपालिकाले साउन २० गतेदेखि रेण्डम मास टेस्ट गर्ने क्रममा मात्र यो फिटनेस जाने अन्य ५ जनाको स्वाब परीक्षण गरिएका थियो। उनीहरुको रिपोर्ट पोजेटिभ आएको छ।

सोमबार मात्र यो फिटनेस जाने धरान १९ मा होटल चलाउने ४० वर्षीय पुरुष, धरान १० की १६ वर्षीय र २० वर्षीय महिलामा पनि संक्रमण पुष्टि भयो। यसअघि धरान ११ की ४० वर्षीय महिला र धरान १० का एक पुरुषमा पनि संक्रमण देखिएको थियो। उनीहरु पनि सोही फिटनेस जाने गरेका थिए।

स्रोतका अनुसार क्रञ्च फिटनेस जानेहरुको संख्या २ सय हाराहरी थियो। उनीहरुमध्ये धेरैको अझै पनि स्वाब परीक्षण गर्न बाँकी नै छ। धरान उपमहानगरपालिकका स्वास्थ्य महाशाखा प्रमुख उमेश मेहता यसअघि पनि कन्ट्याक ट्रेसिङको क्रममा केहीको स्वाब परीक्षण गरिएको बताउँछन्।

‘यो फिटनेस जानेहरु पोजेटिभ देखिन थालेपछि हामी चिन्तित भएका छौं, आज पनि १५ जनाको स्वाब लिएका छौं, र अरुलाई भोली पनि बोलाउछौं,’ मेहताले भने।

धरानका मेयर तिलक राईले फिटनेस जाने सबैको नामावली संकलन गर्न लगाएर कन्ट्याक ट्रेसिङ गर्न पनि निर्देशन दिइसकेको बताए। ‘फिटनेसमा को को जान्थे, सबैको नामावली टिप्न लगाएको छुँ, र तत्काल सबैको स्वाब लिन पनि भनिसकेको छुँ,’उनले भने।

यो फिटनेसमा संक्रमणको स्रोत यसअघि धरानमा हटस्पट झैं बनेको औद्योगिक क्षेत्रस्थित प्रिति भल्भ एण्ड फिटिङ्स प्रालि नै रहेको मानिएको छ। त्यहाँको कार्यालयमा कार्यरत धरान १३ का युवामा संक्रमण देखिएको थियो। उनी क्रञ्च फिटनेस जाने गरेका थिए।

सम्भवतः उनीबाट नै फिटनेसमा संक्रमण फैलिएको हुनसक्ने अनुमान गरिएको छ। ट्राभल हिष्ट्री नभएका ती युवामा पनि प्रिति भल्भका अन्य कर्मचारीबाट संक्रमण भएको अनुमान छ।

उक्त उद्योगका २ जना कामदार जनकपुरलगायत कोरोना संक्रमित क्षेत्रमा आउजाउ गरिरहने गर्थे भने उद्योगमा आएपछि क्वारेन्टिनमा नबस्ने र उद्योगले पनि सुरक्षा मापदण्ड नअपनाउदा अन्यमा संक्रमण फैलिएको हो। नागरिक न्यूजबाट