काठमाडौं । कतार विश्वकप २०२२ र एसियन कप २०२३ को छनोटको दोस्रो चरणको अन्तिम तीन खेलको लागि बन्द प्रशिक्षणमा डाकिएका नेपाली राष्ट्रिय पुरुष फुटबल टोलीका सबै ३४ खेलाडीसहित ५४ जनाको स्वाब संकलन गरिएको छ ।

सोमबार ११ खेलाडीसहित २५ जनाको तथा मंगलबार २३ खेलाडी, ६ अफिसियलको कोरोना परीक्षण गरिएको अखिल नेपाल फुटबल संघ (एन्फा) ले जनाएको छ ।

सोमबार उपत्यका बाहिरबाट आएका खेलाडीको कोरोना परीक्षण गरिदा मंगलबार उपत्यकाभित्र रहेका २५ खेलाडीको पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान लगनखेलमा स्वाव संकलन गरिएको हो ।

कोरोना नेगेटिभ देखिए खेलाडीलाई एन्फाको होस्टेलमा राखिने छ । प्रशिक्षण दौरान उनीहरुले एन्फा होस्टेल छाड्न पाइनेछैन । एन्फाले प्रशिक्षणका लागि विभिन्न १७ प्रोटोकल बनाएको छ । एन्फाले १ भदौबाट राष्ट्रिय टोलीको प्रशिक्षण थाल्ने योजना बनाएको छ ।

मंगलबार तेज तामाङ, बिकेश कुथु, आशिष लामा, अजित भण्डारी, एरिक विष्ट, सेसेहाङ आङदेम्वे, बिक्रम लामा, अमित तामाङ, सुमन अर्याल, भरत खवास, सरोज दाहाल, अभिषेक रिजाल, सुभास गुरुङ, अनन्त तामाङ, सुनिल बल, अन्जन विष्ट, नवयुग श्रेष्ठ, विशाल श्रेष्ठ, रोहित चन्द, किरण चेम्जोङ, बिकास खवास, जर्ज प्रिन्स कार्की र सुजल श्रेष्ठको स्वाव संकलन गरिएको हो ।

यस्तै मधुसुदन उपाध्यय (टिम म्यानेजर), कृष्ण भक्त मानन्धर (अफिसियल), बिकास मल्ल (गोलकिपर प्रशिक्षक), विवेक सुवेदी (मिडिया), युजल श्रेष्ठ (मिडिया) र राजु डंगोल (डक्टर) पनि स्वाव संकलन गरिएको हो ।

एन्फाले सुरुवातमा १० देखि १२ जना सम्मको समूहमा राखेर खेलाडीलाई प्रशिक्षणमा सहभागी गराउने तयारी गरेको छ । त्यसपछि चरणवद्ध रुपमा पूर्ण प्रशिक्षण संचालन हुनेछ ।

नेपालले घरेलु मैदान दशरथ रंगशालामा ८ अक्टोबरमा चाइनिज ताइपेइ, १३ अक्टोबरमा अष्ट्रेलिया तथा १३ नोभेम्बरमा जोर्डनसँग खेल्ने तालिका छ ।