एजेन्सी । स्पेनिस क्लब सेभिल्लाले कीर्तिमानी छैटौं पटक युरोप लिग उपाधि जितेको छ । शुक्रबार जर्मनीको कोल्नमा भएको फाइनलमा सेभिल्लाले इन्टर मिलानलाई ३(२ ले पराजित गर्दै उपाधि जितेको हो ।

निकै प्रतिस्पर्धात्मक खेलको पहिलो हाफमा नै दुवै टोलीले अग्रता लिएका थिए । खेलको पाँचौं मिनेटमा नै इन्टरले रोमेलु लुकाकुको पेनाल्टी गोलमा अग्रता लिएको थियो । डिएगो कार्लोसले लुकाकुलाई पेनाल्टी क्षेत्रभित्र लडाएपछि रेफ्रीले पेनाल्टी दिएका थिए ।

सेभिल्लाले १२औं मिनेटमा नै लुक डे जोङको गोलमा खेल बराबरी गर्यो । उनले जेसस नाभासको क्रसमा हेडरमार्फत गोल गरेका थिए ।

३३औं मिनेटमा सेभिल्लाले डे जोङकै हेडर गोलमा अग्रता बनायो । एभर बनेगाको फ्रिकिक प्रहारमा डे जोङले व्यक्तिगत दोस्रो गोल गर्दै सेभिल्लालाई अगाडि लागेका थिए । तर, त्यसको २ मिनेटमा नै इन्टर खेलमा फर्कियो । मार्सेलो ब्रोजोभिचको फ्रिकिकमा डिएगो गोडीनले हेडर गोल गर्दै खेल बराबरीमा ल्याए ।

दोस्रो हाफमा दुवै टोलीले अग्रता लिने प्रयास गरेपनि सेभिल्ला महत्त्वपूर्ण अग्रता बनाउन सफल रहयो । ७४ औं मिनेटमा डिएगो कार्लोसले ओभरहेड किकमा गोल गर्दै उपाधितर्फ अग्रसर गराए । कार्लोसको प्रहार लुकाकुको खुट्टामा डिफ्लेक्ट हुँदै गोलमा परिणत भएको थियो ।

सेभिल्लाले छैटौं पटक फाइनल पुग्दा हरेक चोटी उपाधि जितेको छ । सन् २००६ र २००७ मा यूईएफए कप रहँदा उपाधि जितेको सेभिल्लाले सन् २०१४ देखि १६ सम्म लगातार तीन पटक जितेको थियो ।

कप्तान जेसस नाभास भने यूईएफए कप र युरोपा लिग दुवै जित्ने सेभिल्लाका एक्ला खेलाडी बने । उनले सन् २००६ र २००७ मा पनि उपाधि जितेका थिए ।