झापा । २ साता भन्दा लामो समय होम आइसोलेसन बसाइपछि मिडफिल्डर एरिक बिष्ट कोरोना संक्रमणबाट मुक्त भएका छन् ।

कतार विश्वकपको छनौटका लागि प्रशिक्षणको पुर्वसन्ध्यामा ३५ खेलाडी सहित ५५ जना मा परिक्षण गर्दा एरिकको मात्र पोजेटिभ आयो । होम क्वारेन्टाइनमा रहेका उनको पाटन हस्पिटल मा पहिलो पटक स्वाब लिएर गरिएको परिक्षणमा केही समस्या देखिएपछि दोश्रो पटक ५ हजार ५ सय तिरेर ह्रयाम्प हस्पिटलमा परिक्षण गरे ।

‘पहिलो पटक लिएको स्वाब डिटेक्ट गरेन भनेपछि परिवारसंगको सल्लाहमा दोश्रो पटक टेस्ट गर्दा पोजेटिभ देखिएको थियो ।’ एरिकले भने ‘ संक्रमण भए पनि यसलाई पराजित गर्न सक्छु भन्नेमा मानसिक रुपमा तयार थिएँ । पहिलो टेस्ट गरेको स्वाबको बारेमा अस्पष्ट कुरा आएपछि आइसोलेसनमा बस्न सुरु गरेको थिए ।’

कोरोना संक्रमणले भन्दा पनि संक्रमणबाट थपिएको मानसिक तनाव परास्त गर्न उनले निकै कसरत गर्नुपर्यो । संक्रमण पुष्टि नहुँदै केही संचारमाध्यमले उनको परिचयसहित समाचार प्रकाशन गरेपछि तनाव थपियो ।

‘ स्वाबको रिर्पोट आउनु अघि नै मिडिया र सामाजिक संजालमा नामसहित समाचार भाइरल भएछ । कन्र्फम नै नभई मिडियामा समाचार आउँदा परिवारमा नै तनाव भयो’, एरिकले भने ‘ संक्रमण भएपछि खाली समय बिताउन सामाजिक संजाल हेर्थें । मान्छेहरुले मलाई दिएको प्रतिक्रियाले निकै चित्त दुख्थ्यो । सुरक्षित रुपमा बसेको एउटा खेलाडीलाई त यस्तो गर्छन् झन गाउँघरमा बस्ने सामान्य मान्छेको अवस्था कस्तो होला भन्ने लाग्थ्यो ।’

अन्तिम परिक्षणको लागि शुक्रबार स्वाब दिएका उनको बुधबार रिपोर्ट नेगेटिभ आएको छ । ‘सुरुवातका केहि दिन आफ्नो परिवारको चिन्ता थियो । ममीलाई अस्पताल लग्दा मलाई सरेको भन्ने लागेकोले उहाँको धेरै चिन्ता थियो । पछि सबैको नतिजा नेगेटिभ आएपछि ढुक्क भएँ ।’

आइसोलेसनका दौरान स्वास्थ्य अवस्थालाई ध्यानमा राख्दै सेल्फ मोटिभेसन कोरोना जित्ने अचुक उपाय भएको एरिक बताउँछन् । ‘ घरमा नै आइसोलेसन बस्न मिल्छ भनेपछि परिवारबाट छुट्टै बसें । नियमित रुपमा आफ्नो तापक्रम नापें । तातोपानी धेरै खाएँ । शारीरिक रुपमा केहि असहज महसुस भएन । फिटनेसका लागि आफैं सम्भव भएसम्म अभ्यास कोठाभित्र गरिरहें,’ उनले अनुभव सुनाए ‘ पहिलो त कोरोना जित्छु भन्ने आत्मविश्वास हुनुप¥यो । आफनो स्वास्थ्यलाई ख्याल गर्ने हो भने कोरोना जित्न त्यही गाह्रो चाहि रहेनछ ।’

कोरोनाको संक्रमणबाट मुक्त भएपछि सामान्य जिवनशैलीमा फर्कने प्रयास गरिरहेको उनले बताए । ‘ संक्रमणपछि झन्डै दुई साता होम क्वारेन्टाइनमा कठिन समय बिताए । अब विस्तारै सामान्य जिवनशैलीमा फर्किर पुनः प्रशिक्षणमा फर्कने योजना छ ।’ उनले भने ‘ राष्ट्रिय टोलीको प्रशिक्षणका लागि तयारी गर्नुछ । फुटबल तत्काल सामान्य अवस्थामा फर्केला जस्तो छैन् । त्यसैले व्यक्तिगत फिटनेसलाई ध्यानमा राख्नेछु ।’ गत सिजनको शहिद स्मारक लिगमा एनआरटीमा उनले देखाएको प्रदर्शनका कारण राष्ट्रिय टोलीको प्रारम्भिक सुचीमा परेका थिए ।

एन्फा एकाडेमी यु–१६ मा परेको एरिकाले एउटा पनि अन्तराष्ट्रिय प्रतियोगिता नखेली एकाडेमी छाडेका थिए । यू–१६ टोलीमा नपरेपनि सन् २०१७ मा यू–१८ टोलीसँग साफ च्याम्पियनसिप उपाधि जित्न भने सफल रहे । एकाडेमी छाड्ने बितिक्कै आर्मीबाट ललित स्मृति यू–१७ प्रतियोगितामा खेल्ने भए । आर्मीले ललित स्मृतिको सुरुवाती दुई संस्करणमा उपाधि जित्दा उनले मिडफिल्ड सम्हालेका थिए ।

२०७५ सालको सहिद स्मारक लिग र केही मोफसलको प्रतियोगिता आर्मीबाट खेलेका थिए । आर्मीमा कम अवसर पाएका कारण एनआरटीमा पाएको अवसरलाई उपयोग गर्दै २०७६ सालको लिग खेलेका थिए । जहाँ उनले ११ खेलमा सहभागी हुँदा २ पटक म्यान अफ दि म्याच पाएका थिए । लोकल सन्देशबाट