झापा । नेपाल शिक्षक महासंघ अर्जुनधारा नगर समितिले मङ्लबार अर्जुनधारा नगरपालिकालाई ज्ञापनपत्र बुझाउँदै कक्षा ८ को नगरस्तरीय परीक्षाको हिसाब सार्वजनिक गर्न माग गरेका छन् ।
महासंघले शैक्षिक सत्र ०७५ र ०७६ को नगरस्तरीय परीक्षाको हिसाब गरियोस् भन्दै नगर प्रमुख हरिकुमार राना र प्रमुख प्रशासकीय अधिकृत पंकज भूर्तेललाई सम्बोधन गर्दै महासंङले हिसाब सार्वजनिक गर्न माग गरेको हो ।
यस्तै, सोही ज्ञापनपत्रमा कोभिडको महामारीले विद्यालय सञ्चालन हुन नसक्दा नगर क्षेत्रका विद्यार्थी शिक्षाबाट बञ्चित भएको भन्दै समितिले वैकल्पिक शिक्षालाई स्थानीयतहले प्राथमिकतामा राख्नु पर्ने उल्लेख छ ।
नेपाल सरकारले भर्खरै विद्यार्थी सिकाइ सहजीकरण निर्देशिका २०७७ जारी गरेको र उक्त निर्देशिकामा विद्यार्थीहरुको वैकल्पिक सिकाइ सहजीकरणमा स्थानीय तह, विद्यालयका प्रधानाध्यापक र शिक्षकहरुको भूमिका समेत महत्वपूर्ण हुने उल्लेख छ’, नगर समितिका अध्यक्ष पुण्यप्रसाद सुवेदीले भने, ‘कोरोनाको बिषम परिस्थितिमा अबको शिक्षा भनेको वैकल्पिक शिक्षालाई नै हो ।’
वैकल्पिक शिक्षाका लागि नगर क्षेत्रका सबै विद्यालयमा एकरुपता नदेखिएको भन्दै त्यसको कार्यान्वयनका लागि नगरले सहकार्य गर्दिनु पर्ने, जीर्ण रहेका नगरका विद्यालयका भौतिक संरचनाको पुनः मर्मत गरिदिनु पर्ने लगायतका १० बुँदे माग गरेको छ ।