झापा । तेह्रौं संस्करणको इन्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत सनराइजर्स हैदराबादले पहिलो जित निकालेको छ । आईपीएलको एघारौं खेलअन्तर्गत मंगलबार भएको खेलमा हैदराबादले दिल्ली क्यापटिल्सलाई १५ रनले हराएको हो ।

शेख जायद रंगशालामा हैदराबादले दिएको १६३ रनको लक्ष्यसहित जवाफी ब्याटिङ गरेको दिल्लीले निर्धारित २० ओभर खेल्दा ७ विकेटको क्षतिमा १४७ रन मात्र बनाउन सक्यो ।

दिल्लीका शिखर धवनले ३४ रन बनाउँदा रिषव पन्तले २८ रन जोडे । शिम्रोन हेट्मायरले २१ रन जोड्दा कप्तान श्रेयस अय्यर १७ रनमा आउट भए । कागिसो राबडाले नटआउट १५ रन बनाउँदा मार्कुस स्टोइनिसले ११ रन बनाए ।

हैदराबादका राशिद खानले ३ विकेट लिए भने भुवनेश्वर कुमारले २ तथा खलील अहमद र थांगाराुसु नटराजनले समान एक–एक विकेट लिए ।

त्यसअघि टस हारेर ब्याटिङ गरेको हैदराबादले निर्धारित २० ओभर खेल्दा ४ विकेटको क्षतिमा १६२ रन बनाएको थियो ।

हैदराबादका लागि जोनी बेयरस्टाले अर्धशतकीय पारी खेलेका थिए । ४८ बल खेलेका उनले २ चौका र एक छक्काको सहयतामा ५३ रन जोडे ।

यस्तै कप्तान डेभिड वार्नरले ४५ रन जोड्दा केन विलियम्सनले ४१ रन बनाए । अब्दुल समदले अजिवित १२ रन जोडे भने मनिष पाण्डेले ३ रन बनाए । बलिङतर्फ कागिसो राबडा र अमित मिश्रले दुई–दुई विकेट लिए ।

यससँगै हैदराबादले ३ खेलबाट २ अंक जोडेको छ । यसअघि पहिलो खेलमा रोयल च्यालेन्जर्स बैंग्लोरसँग दस रनले हारेको हैराबाद दोस्रो खेलमा कोलकता नाइट राइडर्ससँग सात विकेटले पराजित भएको थियो ।

यता, दिल्लीसँग भने ३ खेलबाट ४ अंक छ । उसले पहिलो खेलमा किंग्स एलेभेन पञ्जाबलाई सुपर ओभरमा हराउँदै सुखद सुरुआत गरेको थियो । दिल्लीले आफ्नो दोस्रो खेलमा चेन्नई सुपर किंग्सलाई ४४ रनले पराजित गरेको थियो । एजेन्सी