झापा । यूएईमा जारी १३औं संस्करणको इन्डियन प्रिमिय लिग (आईपीएल)मा साविक विजेता मुम्बई इन्डियन्सले दोस्रो जित निकालेको छ । बिहीबार राति आफ्नो चौथो खेलअन्तर्गत मुम्बईले किंग्स एलेभेन पञ्जाबलाई ४८ रनले पराजित गरेको हो ।

शेख जायद रंगशालामा मुम्बईले दिएको १९२ रनको लक्ष्य पछ्याएको पञ्जाबले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १४३ रन मात्र बनायो ।

पञ्जाबका लागि निकोलस पुरनले ४४ रन जोड्दा मायांक अग्रवालले २५ रन बनाए । कृष्णप्पा गोथामले अविजित २२ रन बनाउँदा कप्तान केएल राहुलले १७ तथा ग्लेन म्याक्सवेलले ११ रन जोडे । मुम्बईका जस्प्रित बुम्राह, राहुल चाहर र जेम्स प्याट्रीनसनले २–२ विकेट लिए ।

त्यसअघि टस हारेर ब्याटिङ गरेको मुम्बईले निर्धारित २० ओभर खेल्दा ४ विकेटको क्षतिमा १९१ रन बनाएको हो ।

मुम्बईका लागि कप्तान रोहित शर्माले ७० रनको अर्धशतकीय इनिंग्स खेले । यस्तै केइरन पोलार्डले अजिवित ४७ रन बनाउँदा हार्दिक पाण्ड्याले पनि अजिवित ३० रन जोडे । इशान किशानले २८ रन बनाउँदा सूर्यकुमार यादवले १० रन जोडे ।

पञ्जाबका शेल्डन कन्ट्रेल, मोहम्मद शामी र कृष्णप्पा गोथामले समान एक-एक विकेट झारे । यससँगै मुम्बईले चार खेलबाट चार अंक जोडेको छ । ऊ अंक तालिकाको शीर्ष स्थानमा उक्लिएको छ ।

मुम्बईले पहिलो खेलमा चेन्नई सुपर किंग्ससँग पाँच विकेटको पराजय ब्यहोरेको थियो भने दोस्रो खेलमा कोलकत्ता नाइट राइडर्सलाई ४९ रनले हराएको थियो । यस्तै तेस्रो खेलमा रोयल च्याचेन्जसै बैंगलोरसँग सुपर ओभरमा पराजित भएको थियो ।

यता, पञ्जाबसँग भने चार खेलबाट २ अंक छ । पञ्जाबले पहिलो खेलमा दिल्ली क्यापिटल्सँग सुपर ओभरमा हार ब्यहोरेको थियो भने दोस्रो खेलमा बैंग्लोरमाथि ९७ रनको फराकिलो जित निकालेको थियो । तेस्रो खेलमा राजस्थान रोयल्ससँग ४ विकेटले पराजित भएको थियो । एजेन्सी