झापा । अर्जुनधारा नगरपालिकाले प्रमुख प्रशासकीय अधिकृत पंकज भुर्तेललाई बिदाइ गरेको छ । नगरपालिका, नगरका विभिन्न शाखासहित विभिन्न संघसंस्थाले शुक्रबार बिदाइ कार्यक्रमको आयोजना गरी प्रमुख प्रशासकीय अधिकृत भुर्तेललाई बिदाइ गरेका हुन् ।

नगरले प्रमुख प्रशासकीय अधिकृत भुर्तेलले नगरमा रहँदा गरेको कार्यको उच्च मूल्याङ्कन गर्दै प्रशंसापत्रसहित बिदाइ गरेको हो । कार्यक्रममा बोल्दै प्रमुख प्रशासकीय अधिकृत पंकज भुर्तेलले अर्जुनधारामा काम गर्दा सन्तुष्ट भएको बताए । ‘अर्जुनधारामा काम गर्न असहज हुने सुनेको थिए’, भुर्तेलले भने ‘तर, त्यो वातावरण भएन ।’ आफू आउँदा ४२/४३ कर्मचारी भएको बताउँदै उनले भने ‘हाल ३ सयदेखि ३ सय ५० जना कर्मचारी छन् ।’ उनले प्रदेशमा सरुवाको माग गरे बमोजिम सरुवा भएकोमा खुसी व्यक्त गरे ।

अर्जुनधारामा २३ महिना १५ दिन कार्य सम्पादन गर्दा नगर प्रमुख, उपप्रमुख, सबै जनप्रतिनिधि, कर्मचारीहरुसँग सहज वातावरण भएको बताए । उनले सरुवा भए पनि यस नगरका लागि सकेसम्म सहयोग गर्ने प्रतिवद्धता गरे । उनी प्रदेश नं. १ मुख्यमन्त्री कार्यालयमा सरुवा भएका छन् ।

नगर प्रमुख हरिकुमार रानाको अध्यक्षतामा भएको बिदाइ कार्यक्रममा जनप्रतिनिधिका तर्फबाट उपमेयर कमला आचार्य खतिवडा, पत्रकारका तर्फबाट कृष्ण हुमागाई, अर्जुनधारा शिक्षक महासंघका तर्फबाट अध्यक्ष पुन्य सुवेदीलगायतले सु–स्वास्थ्य, प्रगतिसहित उज्जवल भविष्य कामना गरेका थिए ।

कर्मचारीका तर्फबाट बोल्दै नगरका लेखा अधिकृत रामचन्द्र घिमिरेले भुर्तेलले असल अभिभावकको भूमिका निर्वाह गरेको बताए । भुर्तेलले समय अनुसार परिस्थितिलाई बुझेर सवै कर्मचारीलाई समान व्यवहारसहित प्रेराणदायी कार्य गरेको उल्लेख गरे । सोही कार्यक्रममा बोर्ड सदस्य रमेश त्रिखत्रीले बिदाइ गीत समेत प्रस्तुत गरेका थिए ।