झापा । फुटबल खेल्न इच्छुक किशोरीका लागि फेसबुक ग्रुपले आर्थिक सहयोग प्रदान गरेको छ । फुटबल खेल्न मन भए पनि वातावरण नमिलेका किशोरीहरुका लागि फेसबुक ग्रुपले आर्थिक सहयोग गरेको हो ।

झापाको मेचीनगर १ स्थित निन्दा सिरानको बाल विकास स्कुलमा अभ्यासरत किशोरीहरुका लागि फेसबुक ग्रुप ‘मंगोलियन डाँडो’को तर्फबाट आर्थिक सहयोग भएको हो । स्थानीय युवा तथा बैंकर अर्पण राई र विदेशमा रहेका नविन मोक्तानको पहलमा किशोरीहरुका लागि ५० हजार रुपैयाँ संकलन भएको थियो ।

संकलित रकमबाट किशोरीहरुका लागि फुटबल, बुटलगायत अभ्यास सामग्री खरिद गरिएको अगुवा अर्पण राईले बताए । उनका अनुसार तीन महिनादेखि मेचीनगर १ र २ का किशोरी साथै छिमेकी जिल्ला इलामको रोङ गाउँपालिका ६ नम्बर वडाका किशोरी पनि तालिममा सहभागी छन् । उनीहरुलाई जर्सी र बुट उपलब्ध गराइएको छ ।

महिला फुटबल टिम बनाउने उद्देश्य राखेर थालनी गरिएको तालिममा अहिले ३६ जना किशोरीहरु सहभागी छन् । स्थानीय क्लबबाट फुटबल खेल्दै आएका रोमन तामाङले किशोरीहरुलाई तालिम दिँदै आएका छन् । हरेक दिनको बिहान ४ः३० बजेदेखि ७ बजेसम्म तालिम हुँदै आएको छ ।

यसैबीच, तालिममा सहभागी एक खेलाडीको आर्थिक अवस्था कमजोर भएकाले उनको अध्ययनका लागि खर्च विनियोजन गरिएको अगुवा अर्पण राईले जानकारी दिए । स्थानीय मेची जनसाधारण माविको कक्षा ९ मा अध्ययनरत आशा राईलाई वर्षभरिको पढाइ खर्च समूहले व्यहोर्ने भएको छ ।

किशोरीहरुको लगावलाई मध्यनजर गर्दै यसअघि कोरियामा रहँदै आएकी कवियत्री तथा स्थानीय दीपा मेवाहाङ राईले १० हजार प्रदान गरेकी थिइन् । उक्त रकमबाट किशोरीहरुका लागि फुटबल खरिद गरिएको थियो ।

अहिले कुनै क्लब, समूह नखोलिए पनि महिला खेलाडी उत्पादन गरेपछि जिल्लामै पहिचान बनाउने गरी महिला फुटबल टिमको क्लब स्थापना गर्ने सोच रहेको बताइएको छ ।