झापा । इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा किङ्ग्स इलाभेन पञ्जाबले तेस्रो जित निकालेको छ । जितसँगै पञ्जाबले प्लेअफमा पुग्ने सम्भावना कायमै राखेको छ ।

दुई पटकसम्म सुपर ओभरमा पुगेको खेलमा पञ्जाबले दोस्रो सुपर ओभरमा जित निकालेको हो । मुम्बईको यो तेस्रो हार हो । टस जितेर पहिले ब्याटिङ गरेको मुम्बईले निर्धारित ओभरमा ६ विकेट गुमाएर १ सय ७६ रन बनायो । पञ्जाबले पनि २० ओभरमा ६ विकेट गुमाएर एक सय ७६ रन नै बनाएपछि खेल बराबरी भएको थियो ।

सुपर ओभरमा पञ्जाबले ५ रनको लक्ष्य दिएको थियो । मुम्बईले पनि चार रन बनाएपछि खेल दोस्रो पटक सुपर ओभरमा गएको हो ।

दोस्रो पटकको सुपर ओभरमा पहिले ब्याटिङ गर्दै मुम्बईले एक विकेट गुमाएर १२ रनको लक्ष्य दिएको थियो । जसमा पञ्जाबले २ बल बाँकी हुँदा जित निकाल्यो। जितपछि पञ्जाबको ६ अंक भएको छ । पञ्जाबसँग हारेको मुम्बईले शीर्ष स्थानमा उक्लने मौका गुमाएको छ ।

यस्तै, कोलकाता नाइट राइडर्सले आइतबार इन्डियन प्रिमियर लिगमा सनराइजर्स हैदरावादलाई सुपर ओभरमा हराएको छ । त्यसमा कोलकाताले ३ रनको लक्ष्य पूरा गरेको थियो ।

हैदरावादले भने पहिले ब्याटिङ गर्दै २ रन मात्र बनाएको थियो । त्यसमा लकी फर्गुसनले घातक बलिङ गरे । यसअघि २०र२० ओभरको खेल टाइ भएको थियो । कोलकाताले २० ओभरमा ५ विकेट गुमाएर १ सय ६३ रन बनाएको थियो ।

त्यसको जवाफमा हैदरावादले ६ विकेट गुमाएर ठ्याक्कै १ सय ६३ रन बनायो । हैदरावादले नयाँ ब्याटिङ जोडी उतारेको थियो । यसक्रममा जोनी बियरस्टो र केन विलियम्सनले पहिलो विकेटका लागि ५८ रनको सोझदारी गरे ।

कोलकाताका लागि भने खाली दुई ब्याट्सम्यानले ३० रनभन्दा माथिको स्कोर बनाए । त्यसमा कप्तान इओन मोर्गनको ३४ र प्रारम्भिक ब्याट्सम्यान शुभमन गिलले ३४ रन बनाएका थिए । एजेन्सी