झापा । कोरोना संक्रमणबाट अर्जुनधारा माध्यमिक विद्यालय झापाका प्रधानाध्यापक टंक बस्नेतको आज निधन भएको छ ।

अर्जुनधारा ४ नम्बर वडा भाङबारीमा रहेको अर्जुनधारा माविका प्रधानाध्यापक बस्नेतको आज दिउँसो ४ बजेतिर निधन भएको बताइएको छ । विराटनगरस्थित न्यूरो हस्पिटलमा उपचाररत बस्नेतको निधनबारे ४ः२४ बजे परिवारलाई खबर गरिएको नेपाल शिक्षक महासंघ अर्जुनधाराका अध्यक्ष पुण्य सुवेदीले न्यूज सञ्जाललाई जानकारी दिए ।

करिब डेढ महिनाअघि रुघाखोकी र ज्वरो आएपछि उनी घरमै बसेर सामान्य उपचार गरिरहेका थिए । ५९ वर्षीय बस्नेतलाई स्वास प्रश्वास तथा फोक्सोमा समस्या देखिएपछि थप उपचारका लागि विराटनगरको न्यूरो हस्पिटलमा भर्ना गरिएको थियो ।

रुघाखोकी र ज्वरो १५ दिनसम्म पनि निको नभएपछि उनलाई थप उपचारका लागि अन्य हस्पिटलमा लगिएको थियो । परिवारका अनुसार उनमा कुनै किसिमको दीर्घ रोग संक्रमण थिएन ।

कोरोना भाइरसको लक्षणसँग मिल्दोजुल्दो देखिएपछि लामो समयको उपचारकै क्रममा स्वाब संकलन गर्दा उनमा कोरोना भाइरस संक्रमण पुष्टि भएको थियो । उनले असोज २७ गते स्वाब संकलन गराएका थिए ।

उपचारकै क्रममा अक्टोबर २८ तारिकमा उनको रिपोर्ट नेगेटिभ आएको थियो । तर, स्वास्थ्यमा सुधार नभएपछि उनलाई कोभिड र नन कोभिड गर्दै भेन्टिलेटरमा राखेर उपचार गरिँदै आइएको परिवारले जनाएको छ ।

अर्जुनधारा ४ प्रअ बस्नेतका श्रीमती, १ छोरा र १ छोरी रहेका छन् । उनको शव अहिले बेलुका विराटनगरबाट घरमा ल्याइपुराइने बताइएको छ ।