झापा । नेपालले दोस्रो अन्तराष्ट्रिय मैत्रीपूर्ण खेलमा बंगलादेशसँग बराबरी खेलेको छ । ढाकास्थित बंगबन्धु रंगशालामा मंगलबार नेपालले बंगलादेशसँग गोलरहित बराबरी खेलेको हो ।

बंगलादेशविरुद्ध निकै आक्रामक खेल खेले पनि नेपालले गोल गर्न सकेन । नेपालका अग्रपंक्तिका खेलाडी डरलाग्दो आक्रमण गर्न चुकेका थिए ।

तर, खेलको इन्जुरी समयमा नवयुग श्रेष्ठको हेड प्रहार पोस्टमा लागेर फर्किएको थियो । यस्तै बंगलादेशविरुद्ध नेपालका छिरिङ गुरुङ, पुजन उपरकोटी र सेसेहाङ आङ्देम्बेले डेब्यु गरे ।

रक्षात्मक खेल्दै काउन्टर अट्याकमा जोड दिएको बंगलादेशले पनि उत्कृष्ट आक्रमण गर्न सकेन । ‘मुजिब वर्ष फिफा अन्तराष्ट्रिय फुटबल सिरिज’ अन्तर्गत पहिलो मैत्रीपूर्ण खेलमा भने बंगलादेशले नेपाललाई २-० ले हराएको थियो ।

फिफा विश्वकप छनोटको दोस्रो चरण खेलिरहेको नेपालले तयारीका लागि बंगलादेशसँग दुई मैत्रीपूर्ण खेल खेलेको हो ।कतारमा २०२२ मा हुने विश्वकप र चीनमा २०२३ मा एसियन कप छनोटमा नेपालले अब ३ घरेलु खेल खेल्न बाँकी रहेको छ । एजेन्सी