0 Shares

सुनसरी । मोरङको बुढीगंगा ४ स्थित रहेको मनमोहन प्राविधिक विश्वविद्यालयमा पारामेडिकल भवनको शिलान्यास भएको छ ।

कुल १२ करोड ३१ लाख रुपैयाँमा निर्माण हुने चार तले भवनको बिहीबार विश्वविद्यालयका कुलपति तथा प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले शिलान्यास गर्नुभयो ।

कार्यक्रममा बुढीगंगा गाउँपालिका ४ स्थित मनमोहन विश्वविद्यालयको परिसरमै बन्न भवन समयमै सम्पन्न हुने र गुणस्तरमा कुनै सम्झौता नगर्ने प्रतिबद्धता मुख्यमन्त्री राईले व्यक्त गर्नुभएको छ ।

मुख्यमन्त्री राईले प्रदेशमा मात्र नभएर देशभरिका लागि आवश्यक दक्ष प्राविधिक जनशक्ति उत्पादन गर्नका लागि प्रदेश १ सरकारले कानुन बनाएर प्राविधिक विश्वविद्यालय स्थापना गरेको बताउनुभयो ।

मुख्यमन्त्री राईले भन्नुभयो देशलाई अब भनिखाने हैन गरिखाने जनशक्तिको खाँचो छ, यसैले हामीले त्यो खाँचो पुरा गर्न प्राविधिक विश्वविद्यालयमा लगानी गरेका हौं ।

पारामेडिकल भवनमा हाइड्रोजन फयुल इनरजिको प्रशोधन गरिने विषय बस्तुमा अधारीत पाठ्य सञ्चालन हुने मनमोहन प्राविधिक विश्वविद्यालयका प्रवक्ता सत्यनारायण चौधरीले बताउनु भयो ।

कार्यक्रममा प्रदेश १ का सामाजिक विकाश मन्त्रालय तथा मनमोहनका सहकुलपति मन्त्री जिवन घिमिरे, बुढीगंगा गाउँपालिकाको अध्यक्ष बालचन्द्र माझी, उपाध्यक्ष अमृता कुमारी गच्छदार लगायत व्यक्तिहरूको उपस्थिति रहेको थियो ।

कार्यक्रममा विश्वविद्यालयका प्रमुख डा सुवासश्री पोखरेले मनमोहन प्राविधिक विश्वविद्यालयले आगामी शैक्षिक सत्र २०७८÷०७९ देखी स्नातक तह तर्फ सिभिल इन्जिनियरिङ ,इलेकट्रिकल एन्ड इलेकट्रोनिक इन्जिनियरिङ विषयको पठनपाठन प्रारम्भ गर्ने जानकारी दिनुभयो ।

उहाँले विश्वविद्यालयमा सिभिल इन्जिनियरिङ तर्फ रेल्वे , पानीजहाज विषय समेत समावेश गरी पाठ्यक्रम तयार भई रहेको जानकारी दिनुभयो ।