काठमाडौं । विश्व फुटबलको सर्वोच्च निकाय फिफाको वरीयतामा नेपाल एक स्थान तल झरेको छ । फिफाले बिहीबार निकालेको नयाँ वरीयतामा नेपाल एक स्थान तल झर्दै १ सय ७१ औं स्थानमा रहेको छ । गत महिना नेपाल १ सय ७० औं स्थानमा रहेको थियो ।

नेपालले हालै दुई अन्तराष्ट्रिय मैत्रीपूर्ण खेल खेलेपनि वरीयता खस्किएको हो । नेपालले बंगलादेशसँग उसैको मैदानमा मैत्रीपूर्ण खेल खेलेको थियो । जसमा एक हार र एक बराबरी खेलेको थियो ।

नेपाल दक्षिण एसियाली राष्ट्रको तेस्रो स्थानमा रहेको छ । नेपाल भन्दा अघि भारत र माल्दिभ्स रहेको छ । भारत १ सय ४ औं स्थानमा रहेको छ । यस्तै माल्दिभ्स १ सय ५५ औं स्थानमा रहेको छ ।

नेपाल भन्दा तल भुटान, बंगलादेश, श्रीलंका र पाकिस्तान रहेको छ । भुटान १८९ औं, बंगलादेश १८४ औं, श्रीलंका २ सय ६ औं र पाकिस्तान २०० औं स्थानमा रहेका छन् ।

नयाँ वरीयताको शीर्ष स्थानमा बेल्जियम यथावत रहेको छ । यस्तै फ्रान्स दोस्रो, तेस्रोमा ब्राजिल, चौथोमा इंग्ल्यान्ड र पाँचौ स्थानमा पोर्चुगल रहेका छन् ।