बिर्तामोड । राष्ट्रिय प्रजातन्त्र पार्टीले आज झापामा मोटरसाइकल र्‍याली गर्दै शक्ति प्रदर्शन गरेको छ । र्‍यालीमा सहभागीले गणतन्त्रको विरुद्ध र राजतन्त्रको पक्षमा खुल्ला नाराबाजी गरे ।

काँकरभिट्टाबाट अपरान्ह सुरु भएको र्‍यालीमा हजारौं सहभागी भएका थिए । सहभागितको दृष्टिले र्‍याली निकै भब्य र विशाल थियो ।र्‍याली विर्तामोड नपुगुञ्जेल पूर्व पश्चिम राजमार्ग अवरुद्ध भएको थियो । नेपाल प्रहरीको गाडीले र्‍यालीको अग्रभागमा स्कर्टिङ गरेको थियो ।

सहभागी अधिकांशको मोटरसाइकलमा राष्ट्रिय झण्डा बाँधिएको थियो भने राप्रपाको आफ्नै झण्डा समेत उल्लेख्य थियो । सडक कब्जा भएको हुँदा आयोजकले र्‍यालीलाई तीब्र रफ्तारमा अघि बढाएका थिए । साना गाडीको लस्कर पनि लामै थियो ।

सहभागीले माइकिङ र नाराबाजी गरेका थिए । कतिपयले पूर्वराजा ज्ञानेन्द्रको तस्वीर अंकित लुगा लगाएका थिए । र्‍याली पुछारमा रहेको एउटा गाडीमा पूर्वराजा ज्ञानेन्द्र गद्दीमा बसेको तस्वीरको झाँकीलाई आकर्षक ढंगले सजाइएको थियो । पूर्वराजा ज्ञानेन्द्रको झाँकीलाई र्‍यालीको अग्रभागमा भने राखिएको थिएन ।

र्‍यालीलाई हेर्न राजमार्गको दुबै किनारमा सर्वसाधारण लाम लागेका थिए । चोक चोकमा प्रहरीको ठूलो संख्या गडबडी केही नहोस् भनेर तैनाथ देखिन्थ्यो ।

तस्वीरः बिर्तामोड, झापा