अर्जुनधारा फिटनेसको उद्घाटन गर्दै मेयर राना र उद्घाटनपछि सञ्चालकसँग सामुहिक तस्वीर खिचाउँदै ।

अर्जुनधारा । झापाको पुरानो बजार भनेर चिनिने अर्जुनधारा ८ स्थित शनिश्चरे बजारमा अर्जुनधारा फिटनेस सञ्चालनमा आएको छ । स्थानीय युवाहरुको संयुक्त लगानीमा सञ्चालनमा ल्याइएको फिटनेसकाे आज (शनिबार) अर्जुनधाराका मेयर हरिकुमार रानाले उद्घाटन गरे ।

खेलाडी उत्पादन र कुलतमा फसेका युवाहरुलाई प्रोत्साहन गर्ने उद्देश्यले सञ्चालनमा ल्याइएको फिटनेसको लागत ५० लाख रहेको सञ्चालकहरुले बताएका छन् । युवाहरुको जोश र जाँगरबाट सञ्चालनमा आएको फिटनेस नगरको गौरवका रुपमा राख्न सफल बन्न आयोजकलाई मेयर रानाको शुभकामना थियो ।

स्वास्थ्यप्रति सचेत युवाहरुको पहलले नगरलाई दुव्र्यसनमुक्त बनाउन टेवा मिल्ने बताउँदै मेयर रानाले दुव्र्यसनमा फसेका युवाहरुको समुचित व्यवस्थापन गर्न सफलता मिल्ने पनि विश्वास व्यक्त गरे ।

अन्य स्थानमा सञ्चालित फिटनेस सेन्टरजस्तै यहाँ पनि व्यावसायिकरुपले आवश्यक सामग्री भित्र्याइएको सञ्चालक सदस्य मनोज गोम्देनले जानकारी दिए । उनका अनुसार महिला र पुरुष दुवैका लागि व्यवस्थित फिटनेस उद्घाटनका अवसरमा १५ दिनसम्म निशूल्क सदस्यता दिइने छ ।

गोम्देनसँगै विजय सेन्दाङ, विशाल भण्डारी, प्रदीप खड्का, राघव थापा, अनिमेष बराल, कृष्ण तामाङ, विकास खड्का, जिवल थापा र सुनिल बुढाथोकी फिटनेसका सञ्चालक सदस्य छन् । बुढाथोकी फिटनेसका प्रशिक्षकसमेत हुन् ।

सञ्चालक सदस्य विजय सेन्दाङको अध्यक्षता तथा अर्का सदस्य विशाल भण्डारीको स्वागत रहेको कार्यक्रममा सशस्त्र प्रहरी नायव उपरीक्षक गौतम याेञ्जन, अर्जुनधारा नगर खेलकुद विकास समितिका संयोजक अर्जुन मेचे, शनिश्चरे प्रहरी चौकी इन्चार्ज सइ सूर्य बस्नेत, अस्थायी ट्राफिक प्रहरी शनिश्चरे इन्चार्ज असइ गोकुल आचार्यको उपस्थिति रहेको थियो ।

यस्तै, साउथ एसियन च्याम्पियन बडिविल्डि च्याम्पियन जीवन राई, ग्यालेक्सी फिटनेस बिर्तामोडका सञ्चालक चन्द्र लाफा, सन्दिप शेर्मालगायत फिटनेस सञ्चालकहरुकाे सहभागिता रहेको थियो ।