सातदाेबाटाेस्थित एन्फा कम्प्लेक्समा बन्द प्रशिक्षणमा रहेका खेलाडीहरू ।

काठमाण्डौ । राष्ट्रिय फुटबल टिमको बन्द प्रशिक्षण आज (आइतबार) देखि सुरु भएको छ । विश्वकप फुटबल छनोटको तयारी स्वरूप अखिल नेपाल फुटबल सङ्घ (एन्फा) ले आइतबारदेखि प्रशिक्षण सुरु गरेको हो ।

एन्फाले ५८ जना खेलाडीलाई बन्द प्रशिक्षणमा सहभागी गराएको छ । फुटबल टिमका कार्यवाहक प्रशिक्षक बालगोपाल महर्जनले आउँदो चैतको १२ गते चाइनिज ताइपेईसँग, चैत १७ गते अस्ट्रेलियासँग र जेठ २४ गते जोर्डनसँग हुने प्रतिस्पर्धाको तयारी स्वरूप बन्द प्रशिक्षण सुरु गरिएको बताउनुभयो ।

पूर्वकप्तान विराज महर्जनले लामो समयपछि प्रशिक्षणमा सहभागी हुन पाउँदा खुसी लागेको बताउनुभयो । विश्व कप छनोटका लागि पर्याप्त समय रहेकाले पनि राम्रो नतिजा ल्याउने गरी प्रशिक्षण अगाडि बढ्ने विश्वास व्यक्त गर्नुभयो ।

समूह ‘बी’ मा नेपाल, अस्ट्रेलिया, कुवेत, जोर्डन, चाइनिज ताइपेई रहेका छन् । अस्ट्रेलिया १२ अङ्कसहित शीर्ष स्थानमा छ भने कुवेत र जोर्डन १० अङ्कसहित दोस्रो र तेस्रो स्थानमा छन् । त्यस्तै नेपाल तीन अङ्कसहित चौथो स्थानमा छ ।

कोभिड १९ सङ्क्रमणको जोखिमका कारण खेलाडीहरू गएको चैत महिना यता कुनै पनि प्रशिक्षणमा सहभागी हुन पाएका थिएनन् । तर, गएको शुक्रबार एएफसीले विश्वकप छनोटको बाँकी खेल तालिका सार्वजनिक गरेपछि एन्फाले राष्ट्रिय टिमको प्रशिक्षण सुरु गरेको हो । प्रशिक्षणमा सहभागी हुनुभन्दा पहिला सबै खेलाडीको पीसीआर परीक्षण गरिएको थियो ।