तालिममा सहभागी मनकामना कलेजका विद्यार्थीहरुसँग सहजकर्ता ।

बिर्तामोड । नेपाल फोटो पत्रकार महासंघ झापा शाखाको प्राविधिक सहयोग र मनकामना कलेजको सहजिकरणमा सात दिवशीय फोटो पत्रकारिता (फोटोग्राफी) तालिम सुरु भएको छ ।

मनकामना कलेज बिर्तामोडमा ब्याचलर तेस्रो बर्षमा अध्ययनरत विद्यार्थीहरुलाई फोटो पत्रकारिता र फोटोग्राफी सम्बन्धी कार्यशालासहित तालिम दिन सुरु गरिएको हो । कलेजका ३० जनाभन्दा बढी पत्रकारिता विषयमा अध्ययन गर्दै आएका बिद्यार्थीहरु सहभागी छन् । कितावमा मात्र पत्रकारिता पढदै आएका विद्यार्थीलाई अझ छिटो र सहज रुपमा सिकाउन सजिलो र प्रभावकारी बनाउन कलेजले यस पटकबाट प्रयोगात्मक सिकाई अभ्यास सुरु गरेको कलेजका शिक्षक सौरभ प्रसाईले बताए ।

आइतबार विर्तामोडस्थित कलेजमा सुरु भएको प्रशिक्षणमा नेपाल फोटो पत्रकार महासंघका केन्द्रीय सदस्य झापा शाखाका निवर्तमान अध्यक्ष सिद्धार्थ नविन उप्रेतीको संयोजकत्वमा सुरु भएको हो । प्रशिक्षण उद्घाटन कार्यक्रममा नेपाल फोटो पत्रकार महासंघ झापाका अध्यक्ष विनोद पाण्डे, केन्द्रिय सदस्य उप्रेती र झापा शाखाका कोषाध्यक्ष शरद जोशीले सहजीकरण गरेका थिए ।

सात दिनको सिकाई कार्य अन्तरगत दुई दिन कलेजमै आधारभूत फोटो पत्रकारितासम्बन्धी अन्तरक्रिया र बाँकी खुल्ला स्थानमा गएर क्यामरा प्रयोग बिषयमा प्रशिक्षण गराईने अध्यक्ष पाण्डेले बताए । प्रशिक्षणमा जिल्ला उपाध्यक्ष इन्द्रजित मुखिया, सचिव विष्णु लामिछाने, फोटोपत्रकार लोकेश अधिकारी, धर्म प्रसाई लगायतले सहजीकरण गर्ने छन् ।