गोपाल काफ्ले,
पथरी । मोरङको पथरीशनिश्चरेमा जारी प्रथम पथरीशनिश्चरे प्रिमियर लिगमा सोमबार भएको खेलमा हिमाअस हाईवे र हेरिका न्यू स्टारले बराबरी खेल्दै अंक बाडेका छन् । दुवै टिमबाट समान १-१ गोल भएपछि १-१ अंक बाँडेका हुन् ।
खेलमा हिमाअस हाईवेका आशिश गुरुङले पहिलो हाफको २०औँ मिनेटमा गोल गर्दै अग्रता लिएका थिए । १-० ले पछि परेको हेरिकाले खेलको दोस्रो हाफको ४३औँ मिनेटमा पेनाल्टी मार्फत गोल गर्दै बराबरीमा पुर्याएको थियो । पेनाल्टीमा कप्तान मिन धिमालले गोल गरेका थिए ।
लिगको दोस्रो चरणको पहिलो खेल खेल्दै हिमाअस हाईवेले २ र हेरिका न्यू स्टारले १ अंक बटुलेको छ । खेलको म्यान अफ दी म्याच हेरिका न्यू स्टारका मिन धिमाल घोषित भए ।
पथरीशनिश्चरेको पथरी रंगशालामा आयोजित प्रिमियर लिगमा नगरभित्रका १४४ खेलाडीहरु ८ क्लवमा अनुबन्धित छन् । मोफसलमै पहिलोपटक अक्सनमार्फत खेलाडीलाई अनुबबन्धित गरि सुरु गरिएको लिग च्याम्पियनले नगद १ लाख ७५ हजार र फस्ट रनरअपले नगद ७५ हजार पाउनेछन् । मंगलबारको खेल शिखर एफसी र सिरजिंगा एफसीबीच हुनेछ ।