पिपुल्स च्वाइसको मनोनयमा परेका खेलाडीहरु ।

काठमाडौं । नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ)ले पल्सर स्पोर्ट्स अवार्डको पिपल्स च्वाईस विधाका लागि ५ जनाको नाम सार्वजनिक गरेको छ । आयोजक एनएसजेएफले शुक्रबार पत्रकार सम्मेलन गर्दै पौडीकी गौरिका सिंहसहित वर्षका ५ चर्चित खेलाडीको सूची सार्वजनिक गरेको हो ।

पिपल्स च्वाईस विधामा पौडीकी गौरिका सहित करातेका मण्डेकाजी श्रेष्ठ, भलिबलकी अरुणा शाही, बास्केटबलकी सदिना श्रेष्ठ र फुटबलकी सावित्रा भण्डारी परेका छन् ।

गतवर्ष घरेलु खेलकुदमा प्राप्त सफलता र चर्चाका आधारमा ५ खेलाडी छनोट गरिएको आयोजक संस्थाका सचिव तथा खेलाडी छनोट समितिका संयोजक गोबिन्द रेग्मीले बताए ।

मनोनयनमा परेका खेलाडीको उत्कृष्टताको छनोट भोटिङ, फेसबुक लाईक, आयोजक संस्थाका पत्रकारको भोट र राष्ट्रिय संघका मुख्य प्रशिक्षकको भोटका आधारमा हुनेछ । भोटिङ्ग ई सेवाको एप डाउनलोड गरेर खेलाडीको प्रोफाईलमा गएर भोट गर्न सकिनेछ ।

भोटिङ्ग शुक्रबारबाटै सुरु भई पुस २७ गते राति १२ बजेसम्म खुल्ला रहने बताईएको छ । घरेलु खेलकुदको लोकप्रिय र प्रतिष्ठित अवार्ड मानिने पल्सर स्पोर्टस अवार्डको १७औं संस्करण यसवर्ष पुस २८ गते आयोजना हुँदैछ ।

यसवर्ष पनि विभिन्न १० विधाका खेलाडी र खेलकर्मीलाई सम्मान गरिने आयोजक संस्थाले जनाएको छ । वर्ष पुरुष खेलाडी, महिला खेलाडी, युवा तथा उत्कृष्ट प्रशिक्षक सहित लाईफटाईम एचिभमेन्ट अवार्ड, पारा एथलिट, स्पेसल अवार्ड र टिम अफ दी इयर गरी १० विधामा अवार्ड वितरण गरिने आयोजक संस्थाले जनाएको छ ।

यस विधाको मनोनयनमा परेका खेलाडीले वर्ष २०७६ मा पाएको सफलताको संक्षिप्त विवरण:

१. गौरिका सिंह– पौडी
– वर्ष २०७६जलपरी गौरीकाकालागि स्वर्णमय रह्यो
– १३औं दक्षिण एसियाली खेलकुदमा चार स्वर्णको कीर्तिमानसहित थप दुई रजत र दुई कांस्य
– आठौं राष्ट्रिय खेलकुदमा आफू सहभागी सबै स्पर्धा अर्थात १२ स्वर्ण जितेर स्वर्ण वर्षको सुरुआत
– करिश्मा कार्कीले बनाएको एकै प्रतियोगितामा धेरै स्वर्ण जित्ने कीर्तिमानमा बराबर
– दक्षिण कोरियामा आयोजित १८औं फिना विश्वच्याम्पियनसिपमा १ सय र २ सय मिटर फ्रिस्टाइलमा प्रतिस्पर्धा ।

२. अरुणा शाही– भलिबल
– नेपाली टोलीकी कप्तान
– एभीसी सेन्ट्रल जोन महिला भभिबल च्याम्पियसिपमा (स्वर्ण)
– सागमा ऐतिहासिक रजत पदक

३. मण्डेकाजी श्रेष्ठ– कराते
– १३औं सागमा दुई स्वर्ण पदक (टिम काता र एकलकाता)
– आठौं राष्ट्रिय खेलकुदमा स्वर्ण पदक (एकल काता) र रजत (टिम काता)
– बंंगलादेशमा भएको साफच्याम्पियनसिपमा स्वर्ण पदक (टिम काता) र कांस्य पदक (एकल काता)
– नवौं थाइल्यान्ड ओपन च्याम्पियनसिपमा रजत (सिनियर काता), उत्कृष्ट खेलाडी घोषित

४. सदिना श्रेष्ठ– बास्केटबल
– १३औं सागमा रजतपदक (महिला टोली कप्तान)
– आठौं राष्ट्रिय खेलकुद प्रतियोगितामा रजत पदक (प्रदेश ३)
–एनबीएल बास्केटबल लिगमा रजत पदक (समृद्धि गोरिल्लाज)

५. सावित्रा भण्डारी– फुटबल
– १३औं सागमा रजत पदक
– आठौं राष्ट्रिय खेलकुदमा स्वर्ण पदक (एपीएफ)
– इन्डियन वुमन्स लिग २०१८–१९ विजेता (सेथु एफसी)
– प्रधानसेनापति कप विजेता (एपीएफ)
– इन्डियन वुमन्स लिग २०१९–२० विजेता (गोकुलम केरला)
– नादेझ्दा कप उपविजेता (नेपाल)
– नेपालका लागि सर्वाधिक गोल गर्ने कीर्तिमान कायम ।