पहिलो चरणको छनोटमा परेका झापा, इलाम र मोरङका खेलाडीहरू ।

झापा । प्रधानमन्त्री कप महिला राष्ट्रिय क्रिकेट प्रतियोगिताका लागि प्रदेश नं. १ बाट पहिलो चरणमा १९ जना खेलाडी छनोट भएका छन् ।महिला र पुरुष दुवैको प्रधानमन्त्री कप पुस ११ गतेदेखि सुरु हुँदैछ । त्यसका लागि झापा, मोरङ र इलाममा रहेका महिला क्रिकेट टिमबीच प्रतिस्पर्धा गराएर पहिलो चरणमा १९ जना खेलाडी छनोट भएका हुन् ।

तीन जिल्लाका खेलाडीबीच झापाको काँकरभिट्टास्थित तुर्केनी खेलमैदानमा प्रतिस्पर्धा गराइएको थियो । जसमा प्रत्येक टिमले २-२ वटा खेल खेलेका थिए । सोही क्रममा १९ जना छनोटमा परेको प्रादेशिक क्रिकेट संघ प्रदेश १ का सचिव तथा प्रशिक्षक मनोज कटुवालले न्यूज सञ्जाललाई जानकारी दिए ।

उनका अनुसार छनोटमा परेका १९ जनामध्ये सबैभन्दा बढी झापाका १२ जना खेलाडी रहेका छन् भने इलामका ३ जना र मोरङका ४ जना रहेका छन् । झापाबाट छनोट हुनेमा राष्ट्रिय क्रिकेट टिमकी कप्तान रुविना क्षेत्री, काजोल श्रेष्ठ, अप्सरी बेगम, रोमा थापा, संगीता बेगम, सबनम राई, ज्योति दनुवार, ङिमा शेर्पा, निशा साह, लकिता राजवंशी, एलिसा खडिया र स्मृति कटुवाल छन् ।

यसैगरी, इलामकी संगम तामाङ, जमुना कार्की र पायल मगर १९ जनाभित्र परेकी छन् भने मोरङबाट टिका साह, सलिना तामाङ, अंशु जैसवाल र भिमा कुँवर रहेकी छन् । उनीहरु अहिले क्लोज क्याम्पमा प्रशिक्षण गरिरहेका छन् ।

प्रादेशिक क्रिकेट संघका सचिव कटुवालका अनुसार दुई दिनभित्रमा प्रदेश टिमका लागि १४ जना खेलाडीको अन्तिम सूची निकालिने भएको छ । अन्तिम सूचीमा परेका खेलाडीलाई पुस १२ गतेसम्म थप प्रशिक्षण दिइने प्रशिक्षकसमेत रहेका कटुवालले जानकारी दिए । बन्द प्रशिक्षण काँकरभिट्टा खेल मैदानमा भइरहेको छ ।