घाइते खेलाडी गुरुङको सहयोगार्थ संकलित रकम हस्तानतरण गरिँदै ।

धरान । अभ्यासको क्रममा घाइते भएका प्रदेश नं १ का बास्केटबल खेलाडी प्रदिप गुरुङलाई उपचारको लागि २ लाख रुपैयाँ सहयोग भएको छ । धरान बास्केटबल संघको आयोजना तथा सुनसरी बास्केटबल संघको संयोजनमा आयोजित च्यारिटी मैत्रीपूर्ण बास्केटबल खेलको माध्यमबाट २ लाख नगद संकलन भएको थियो । उक्त सहयोग रकम खेलको क्रममा घाइते भएका खेलाडी गुरुङलाई हस्तान्तरण गरेको छ ।

संघको संयोजनमा संकलन भएको १ लाख २७ हजार ५९० रुपैयाँ नगद केन्द्रीय उपाध्यक्ष सुरज लामा, जिल्ला अध्यक्ष नारायण सुवेदी, झापा जिल्ला बास्केटबल संघका अध्यक्ष प्रकाश लिङदेनलगायतले हस्तान्तरण गरेका थिए ।

कार्यक्रममा वडा नं १८ का अध्यक्ष प्रविण राईले १५ हजार, एन्फाका केन्द्रीय वरिष्ठ मानार्थ उपाध्यक्ष एव्ं प्रदेश १ अध्यक्ष किशोर राईले १० हजार, नेपाल बास्केटबल लिगबाट १० हजार, झापा बास्केटबल संघबाट ५ हजार, हिमालयन मेघा कलेजबाट ५ हजार, होप धरानले संकलित २७ हजार ४१० रुपैयाँको डमी चेक पनि खेलाडी गुरुङलाई हस्तान्तरण गरिएको थियो ।

संघका केन्द्रीय उपाध्यक्ष एवं धरान बास्केटबल संघका अध्यक्ष सुरज लामाले खेलाडीहरु घाइते हुँदा राज्यले उपचारको प्रबन्ध गर्नुपर्छ भनेर ध्यानाकर्षण गराउनको लागि च्यारिटी खेल आयोजना गरिएको बताए । उनले खेलाडीहरुको भविष्यको लागि अन्य क्लबहरुले पनि कोष बनाउन आग्रह पनि गरे ।

कार्यक्रमका प्रमुख अतिथि एवं वीपी प्रतिष्ठानका रजिष्ट्रार प्राडा मोहनचन्द्र रेग्मीले राष्ट्रको लागि खेल्ने खेलाडी घाइते हुँदा राज्यले नै उपचारको प्रत्याभूति गर्नुपर्ने बताए ।

नेपाल बास्केटबल लिगका अध्यक्ष नमितबहादुर थापा खेलाडीलाई नियमित प्रशिक्षण दिन सकेको खण्डमा दक्ष खेलाडी उत्पादनसँगै प्रतियोगिता सञ्चालन गरे खेलजीवनबाट आर्थिक उपार्जन गर्नसक्ने दाबी गरे । यस्तै, राष्ट्रिय टिमका कप्तान सदिश प्रधान खेलाडी भौतिक सुरक्षासँगै भविष्यका लागि पनि संघ र राष्ट्रिय खेलकुद परिषदले निर्वाहमुखी कदम चाल्न आवश्यक रहेको औँल्याए ।

यसैबीच, झापा जिल्ला बास्केटबल संघका अध्यक्ष प्रकाश लिङदेनले खेलमा खेलाडीको आकर्षण ‘प्यासनले मात्र नभइ प्रोफेसन’ हुनुपर्नेमा जोड दिए । खेल र खेलाडी व्यावसायिक बनेको खण्डमा भविष्य उज्ज्वल र दीगो रहने उनको विश्वास छ । यस्तै, झापा सचिव राहुल शर्माले कुनै पनि खेलाडी समस्यमा पर्दा कसैसँग हात फैलाउन नहुने वातावरण बनाउन आवश्यक रहेको बताए । उनले सम्बन्धित निकायले यसबारे तत्काल पहल गर्नुपर्नेमा जोड दिए ।

घाइते भएका २८ बर्षीय गुरुङ सातौं र आठौं राष्ट्रिय खेलकुद प्रतियोगिता खेलेका प्रदेश १ का महत्वपूर्ण खेलाडी हुन् । उनको दाहिने घुँडाको एन्टिरियर क्रुसिएट लिगामेन्ट (एसिएल) पुर्णरुपमा च्यातिएको छ भने मिडियल मिनिस्कस र लेटिरियल मिनिस्कसको भाग पनि केही च्यातिएको छ । वीपी प्रतिष्ठान धरानमा उपचार गराइरहेका खेलाडी गुरुङको मेजर सर्जरी गरेर लिगामेन्ट प्रत्यारोपण गर्नुपर्ने भएको छ । त्यसको लागि कम्तीमा ३ लाख खर्च हुने बताइएको छ ।

यसैबीच, घाइते खेलाडी गुरुङको सहयोगार्थ मैत्रीपूर्ण च्यारिटी खेलमा धरान बास्केटबल टिम विजयी भएको छ । झापा बास्केटबल टिमलाई ७५–२९ को फराकिलो स्कोरमा धरानले हराएको हो । धरानका खेलाडी सुजन खालिङले व्यक्तिगत १६ प्वाइन्ट स्कोर गरेका थिए भने झापाका सर्वद्ध राईले १४ प्वाइन्ट स्कोर गरेका थिए ।