टिम नेपाल प्रशिक्षणमा रहेकाे फाइल तस्वीर ।

काठमाण्डौ । विश्वभर महामारीको रूप लिएको कोभिड-१९ को असर नेपाली फुटबलमा पनि देखियो । गएको चैत ४ गतेदेखि रोकिएको ‘बी’ डिभिजन लिग सुरु गर्न अखिल नेपाल फुटबल सङ्घ (एन्फा) ले चासो देखाइसकेको छ । सँगै ‘सी’ डिभिजन लिगको आयोजनाका लागि काम भइरहेको छ । एन्फाले आगामी दिनमा कोभिडका कारण फुटबल स्थगित नगर्नेसमेत बताएको छ ।

शहीद स्मारक ‘सी’ डिभिजन लिग आउँदो चैत १ गतेदेखि सुरु हुने बताइसकेको छ । एन्फाले ‘सी’ डिभिजन लिगका पदाधिकारीसँग छलफल गर्दै स्थगित रहेको लिग चैतको सुरुवातमै सञ्चालन गर्ने सहमति बनाएको हो । कोरोनाका कारण गएको वर्षको अन्तिममा सुरु गर्ने तयारी गरिएको ‘सी’ डिभिजन लिग स्थगित बनेको थियो । तर, अब कोरोनाका कारण प्रतियोगिता नरोकिने अखिल नेपाल फुटबल सङ्घका अध्यक्ष कर्माछिरिङ शेर्पाले बताउनुभयो ।

विभिन्न ठाउँमा देखिएको असरपछि कोरोनाका कारण फुटबल पनि अछुतो रहेन । सङ्क्रमणको डरले फुटबल बन्द रह्यो । एन्फाले गएको वर्ष स्थगित बनेका घरेलु फुटबलका प्रतियोगिता सुरु गर्ने भएको छ ।

एन्फा ‘सी’ डिभिजन लिगका लागि क्लबको तयारी खर्च बढाउनसमेत सहमत बनेको छ । सहमतिपछि एन्फाले क्लबका पदाधिकारीलाई फिफा र एएफसीको स्वास्थ्य प्रोटोकलका विषयमासमेत जानकारी गराएको र त्यही मापदण्ड पूरा गरेर प्रतियोगिता सुरु गर्ने लिग निर्देशक सञ्जीव मिश्रले बताउनुभयो ।

विश्व महामारीको चपेटा परे पनि तोकिएका स्वास्थ्य प्रावधान अपनाउँदै चर्चित फुटबल प्रतियोगिता सुरु भइसकेका छन् । तर, नेपाली फुटबल फर्किनलाई अझै राम्रो र सहज वातावरण मिलेको छैन ।

फुटबलको सर्वोच्च निकाय फिफाले कोरोनाको डरभन्दा पनि कोरोनालाई परास्त गर्दै कदम चाल्नुपर्ने अवस्था आएको बताउँछ । फुटबल ठप्प हुँदा खेलाडीमा परेको नकारात्मक असरलाई समयमा केलाउनुपर्ने दायित्व पनि एन्फाको काँधमा थपिने देखिन्छ ।