काठमाडौं । प्रधानमन्त्री कप राष्ट्रिय महिला क्रिकेट प्रतियोगितामा गण्डकीले लज्जास्पद हार ब्यहोरेको छ । बिहिबार भएको समूह चरणको अन्तिम खेलमा प्रदेश नम्बर १ ले गण्डकीलाई १ सय ४० रनले पराजित गरेको हो ।

१ सय ४८ रनको लक्ष्य पछ्याएको गण्डकी ७ रनमै अलआउट बन्यो । ८ ओभर टिकेको गण्डकीका ९ खेलाडी शुन्य रनमै आउट भए । गण्डकीका कुशुम गोदार र सोनिया थापाले मात्र समान २ रन बनाए ।

गण्डकीले ३ रन अतिरिक्त पाएको थियो । प्रदेश नम्बर १ की संगिता राईले ५, सबनम राईले ४ र अप्सरी बेगमले १ विकेट हात पारिन् । सुरुवाती ब्याटिङ्ग गरेको प्रदेश नम्बर १ ले निर्धारित ओभरमा १ विकेट गुमाएर १ सय ४७ रन बनायो ।

ओपनर काजल श्रेष्ठ र रोमा थापाले अर्धशतकीय ईनिङ्स खेले । रुबिना क्षेत्रीले १५ रनको योगदान दिईन् । प्रदेश १ ले २९ रन अतिरिक्त प्राप्त गरेको थियो । गण्डकीकी कुशुम गोदारले १ विकेट लिईन् ।

जित सहित प्रदेश १ समूह विजेताको रुपमा सेमिफाईनल प्रवेश गर्यो । समूहकै अर्को खेलमा बागमतीलाई पराजित गर्दै सुदुरपश्चिम समेत अन्तिम ४ मा प्रवेश गरेको छ ।

फाईनल प्रवेशका लागि अब समुह बीको समुह विजेता प्रदेश नम्बर १ ले लुम्बिनी प्रदेश र सुदुरपश्चिमले समुह एको विजेता एपीएफसंग खेल्नेछ ।