पोखरा । गतवर्ष सम्पन्न १८औं संस्करणको आहा! रारा गोल्डकप फुटबल प्रतियोगिताबाट १८ लाख ९७ हजार ६ सय ५७ रुपैयाँ बचत भएको छ । सहारा क्लब पोखराले प्रतियोगिताको आयव्यय सार्वजनिक गर्दै १८ लाख ९७ हजार ६ सय ५७ रुपैयाँ बचत भएको जनाएको छ ।

सहाराले प्रतियोगिताबाट कुल ८८ लाख १० हजार ३ सय ६६ रुपैयाँ आम्दानी भएको समेत जनाएको छ । क्लबका अध्यक्ष केशवबहादुर थापाले बचत भएको उक्त रकम क्लबले सहारा एकेडेमीमा रहेका बालबालिकाहरुको लागि खर्च गरिदै आएको बताए ।

प्रतियोगिता गत फागुन २१ देखि चैत १ गतेसम्म पोखरा रंगशालामा भएको थियो । नेपाल पुलिस क्लबलाई फाइनलमा पराजित गर्दै मनाङ मर्स्याङ्दीले उपाधि जितेको थियो । प्रतियोगितामा भारतको एक टिमसहित १० टिमको सहभागिता रहेको थियो ।

तर, कोरोनाको कारणले गर्दा अझै पनि केही रकम संकलन हुन बाँकी रहेको जसले गर्दा यस वर्ष आय व्यय ढिलो सार्वजनिक गरिएको क्लबले जनाएको छ । त्यस्तै क्लबले प्रतियोगिता सम्पन्न गर्न ६९ लाख १२ हजार ७ सय ९ रुपैयाँ खर्च भएको समेत जनाएको छ ।

प्रतियोगिताको प्रवेश टिकटबाट २८ लाख ७ हजार ४ सय ७० रुपैया संकलन भएको प्रतियोगिताका आर्थिक संयोजक सुनिल गुरुङले बताएका छन् । व्यानर तथा आर्थिक सहयोगबाट १६ लाख ६८ हजार ७ सय ७२, सिजनल टिकटबाट ३६ हजार, बैंक व्याज आम्दनीबाट ४२ जहार १ सय ४५ रुपैया आम्दानी भएको समेत उनले जानकारी दिए ।

मुख्य प्रायोजक आहा तथा रारा तयारी चाउचाउबाट १२ लाख ५१ ह्जार, गण्डकी प्रदेश सरकारबाट १० लाख, हिमांश एजुकेशन कन्सेल्टेनसीबाट ४ लाख, राखेपबाट ३ लाख ४७ हजार ५ सय २९, गोर्खा ब्रअरीबाट ३ लाख ५० हजार, सहारा क्लव हङकङबाट २ लाख ७ हजार ४ सय ५० रुपैया लगायतका संघ संस्थाबाट सहयोग प्राप्त भएको क्लवले जनाएको छ ।

त्यसै गरी प्रतियोगितामा खेलाडी दैनिक भ्रमण खर्च वापत २५ लाख ७ हजार १ सय ६८, प्रोत्साहन खर्च १६ लाख १२ हजार, प्रतियोगिता संचालन तथा व्यबस्थापन खर्च ६ लाख ८२ हजार ७ सय ५०, व्यानर कपडा एवं लेखाई खर्च २ लाख ३० हजार, खेल मैदानको लागि जिल्ला खेलकुद विकास समितिलाई ४ लाख, रेफ्रि खर्च १ लाख ९४ हजार, रेफ्रि यातयात खर्च १ लाख २८ हजार ३ सय ९५ लगायतका शिर्षकमा खर्च भएको क्लबका कोषाध्यक्ष राजु लालचनले जानकारी गराए ।