सुजन प्रधान,
झापा । दाङको लमहीमा आइतबार सम्पन्न प्रधानमन्त्री कप महिला राष्ट्रिय क्रिकेट प्रतियोगिताको उपाधि जित्न सफल प्रदेश नम्बर १ का खेलाडीसहित प्रशिक्षकलाई शुक्रबार आफ्नै गृह नगर झापाको मेचीनगरमा नगदसहित सम्मान गरिएको छ ।

स्थानीय अरुणोदय माध्यमिक विद्यालयले विद्यालय परिसरमा आयोजना गरेको स्वागत तथा सम्मान कार्यक्रममा प्रतियोगिता खेल्ने कप्तान रुविना क्षेत्री, काजल श्रेष्ठ, संगीता राई, सवनम राई, रोमा थापा, अप्सरी वेगम, नगिमा तामाङ, स्मृति कटुवाल, एलिसा खडिया, लखिता राजवंशी, निशा शाह, ज्योति दनुवार र प्रशिक्षक वीरु श्रेष्ठलाई नगदसहित फूलमाला अविर खादा पहिर्याएर सम्मान पत्र प्रदान गरिएको हो । प्रशिक्षक श्रेष्ठसहित अधिकांश खेलाडी मेचीनगर ६ काँकरभिट्टाका स्थायी बासिन्दा हुन् ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष भगिरथ राईको सभापतित्वमा भएको स्वागत तथा सम्मान कार्यक्रममा प्रमुख अतिथि नेपाल प्रज्ञा प्रतिष्ठानका प्राज्ञ सदस्य सुभद्रा भट्टराई अर्याल, प्रेस क्लब मेचीनगरका अध्यक्ष लक्ष्मी उप्रेती, पूर्व अध्यक्ष ज्ञानेन्द्र निरौलालगायतले नगदसहित सम्मान पत्र प्रदान गर्नुभएको थियो ।

कार्यक्रममा प्रमुख अतिथि नेपाल प्रज्ञा प्रतिष्ठानका प्राज्ञ सदस्य सुभद्रा भट्टराई अर्याल, प्रेस क्लब मेचीनगरका अध्यक्ष लक्ष्मी उप्रेती, पूर्व अध्यक्ष ज्ञानेन्द्र निरौलाले बोल्नुभएको थियो । प्रशिक्षक वीरु श्रेष्ठ, खेलाडीहरु काजल श्रेष्ठ र स्मृति कटुवालले आआफ्नो अनुभव सुनाउनुभयो ।

विद्यालयका प्रधानध्यापक दुर्गाबहादुर लुइँटेलले कार्यक्रमको औचित्यमाथि प्रकाश पार्नुभएको थियो भने मेरो मेचीनगर डटकम अनलाइनका प्रधान सम्पादक सिएन गौतमले सञ्चालन तथा विद्यलायका खेल संयोजक राजकुमार विश्वकर्माले सहभागी सबैमा शब्दमार्फत स्वागत गर्नुभयो । ।

यसैगरी, आदर्श माध्यमिक विद्यालयले समेत उनीहरुलाई सम्मान गरेको छ । मेचीनगर-८ स्थित आदर्श मावि आयावारीले सोही विद्यालयमा अध्ययनरत विजेता टिम प्रदेश नम्बर १ की महिला क्रिकेट खेलाडी एलिसा खडिया र लखिता राजवंशीलाई जनही पाँच हजार नगदसहित खादा ओढाएर सम्मान गरेको हो ।

कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रेवन्तराज पोख्रेल, प्रअ कृष्ण पुरी, सहायक प्रअ देवराज गिरी, खेल प्रशिक्षक बिरु श्रेष्ठ, कृष्ण प्राविका शिक्षक तथा सम्मानित खेलाडी एलिसा खडियाकी मामा दशरथ खडिया शिक्षक हेमेन्द्र निरौलालगायले सम्मानित खेलाडीलाई खादा र अबिर लगाएर सम्मान गरेका थिए ।

प्रदेश १ ले साविकको विजेता समेत रहेको एपीएफलाई ६ रनले हराउँदै उपाधि आफ्नो पक्षमा पार्न सफल भएको थियो । प्रतियोगितको विजेता प्रदेश १ ले पाँच लाख र उपविजेता एपीएफले ३ लाख रुपैयाँ पुरस्कार पाएको थियो । फाइनल खेलमा वुमन अफ दी म्याच बनेकी प्रदेश १ की खेलाडी रुबिना क्षेत्रीले २५ हजार, प्लेयर अफ द टुर्नामेन्ट बनेकी संगीता राईले २१ हजार र एपीएफकी करुणा भण्डारीले उत्कृष्ट बलिङ गरेवापत रु १० हजार प्राप्त गरेका थिए ।