अर्जुनधारा । झापाको अर्जुनधारामा रहेका तीन वटा कराते डोजोका प्रशिक्षार्थीको शनिबार ग्रेडिङ सम्पन्न भएको छ । अर्जुनधारा १ को वडा खेलकुद समितिको आयोजनामा करातेका जुनियर खेलाडीको ग्रेडिङ सम्पन्न भएको हो ।

अर्जुनधारा १ स्थित पर्यटकीय स्थल हलुवागढ-कालिखोला पर्यापर्यटन क्षेत्रमा समितिका अध्यक्ष सूर्यबहादुर तामाङको अध्यक्षतामा आयोजित कार्यक्रमको उद्घाटन प्रमुख अतिथि करातेका वरिष्ठ प्रशिक्षक कालु मेचे थिए । करातेका प्रशिक्षक जीवन राईका अनुसार अर्जुनधारा ६ को पुलचोक सितोरियो कराते डोजो, अर्जुनधारा ९ को बाह्रघरे सितोरियो कराते डोजो र अर्जुनधारा १ को सिस्ने सितोरियो कराते डोजोमा आबद्ध ४३ जना खेलाडीको उक्त ग्रेडिङमा सहभागिता रहेको थियो ।

झापा जिल्ला कराते टेक्निकल कमिटीको प्राविधिक सहयोग रहेको कार्यक्रममा ग्रेडिङमा सहभागी खेलाडीहरुको परीक्षण परीक्षकद्वय प्रशिक्षक राई र प्रशिक्षक बद्री विष्टले लिएका थिए । त्यस्तै कार्यक्रममा पुलचोक सितोरियो कराते डोजोका खेलाडीहरुले काता प्रदर्शन गरेका थिए ।

अर्जुनधारा १ को सिस्ने सितोरियो कराते डोजोका प्रमुख प्रशिक्षक नारायण सुब्बाले स्वागत मन्तव्य व्यक्त गरेको कार्यक्रममा वडाध्यक्ष गजाधर खतिवडा, नगर खेलकुद विकास समितिका अध्यक्ष अर्जुन मेचे, झापा जिल्ला कराते टेक्निकल कमिटीका उपाध्यक्ष कुमार उप्रेतीलगायतले मन्तव्य व्यक्त गरेका थिए । कार्यक्रमको सञ्चालन राष्ट्रिय खेलकुद परिषद्का प्रशिक्षक दुर्गाराज निरौलाले गरेका थिए ।

सोही कार्यक्रममा भ्वाइस अफ नेपाल सिजन-२ का फाइनलिस्ट विकास तुम्वापो लिम्बू र मेची–महाकाली धावक मोहन सुब्बालाई नगद पुरस्कार प्रदान गरिएको थियो ।