अर्जुनधारा । झापाको अर्जुनधारा-७ फूलमती खोला नजिक निर्माणाधीन अर्जुनधारा खेल मैदानमा बनाइएको कम्पाउण्ड वाल र एकतले भवनको हिसाब सार्वजनिक गरिएको छ ।

समाज कल्याण उद्दार संघको जमिनमा खेल मैदान निर्माणाधीन अवस्थामा रहेको छ । यसै मैदानमा गत आर्थिक वर्षको स्वीकृत बजेटबाट निर्माण सम्पन्न भएको कम्पाउण्ड वाल र भवन योजनाको आय–व्यय विवरण बुधबार सार्वजनिक गरिएको हो ।

खेल मैदान निर्माण उपभोक्ता समितिका अध्यक्ष कमलप्रसाद सुवेदीको अध्यक्षता र वडाध्यक्ष नवराम ढुंगानाको प्रमुख आतिथ्यमा आयोजित कार्यक्रममा समितिका सचिव मेदनीप्रसाद ढुङ्गेलले उक्त योजनाको आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए ।

गत जेठ १४ गतेबाट निर्माण कार्य सुरु भएको उक्त योजनाको कुल लागत ७२ लाख ५७ हजार पाँच सय ९२ रुपैयाँ रहेको सचिव ढुङ्गेलले जानकारी दिए । दुई चरणमा भएको निर्माण कार्य अन्तर्गत पहिलो चरणमा गत असार मसान्तसम्म चार सय ८० मिटर कम्पाउण्ड वाल र दोस्रो चरणमा मंसिर ३० गतेसम्म शौचालयसहितको दुई कोठाको पक्की भवन निर्माण भएको छ ।

गत जेठ १३ गते सम्झौता भइ असार १५ गते सम्पन्न गर्नुपर्ने उक्त योजना कोभिड-१९ रोगको महामारीका कारण भवन निर्माणको कार्य भने पछाीि धकेलिएको समितिका अध्यक्ष सुवेदीले बताए । उक्त योजना सम्पन्न गर्न युवा तथा खेलकुद मन्त्रालयबाट ५० लाख रुपैयाँ र अर्जुनधारा नगरपालिकाबाट १५ लाख रुपैयाँ गरी जम्मा ६५ लाख रुपैयाँ विनियोजन भएको थियो ।

पाँच विगाहा आठ कट्ठा क्षेत्रफलको जग्गामा निर्माण कार्य भइरहेको रंगशालाको लागि भावी योजनाहरु बाँकी रहेको कम्पाउण्ड वाललाई पूर्णता दिने, दुई वटा प्रवेशद्वार, प्यारापिट, कभर्ड हल, मञ्च, चेन्जिङ रुम, पुरुष र महिला शौचालयलगायत निर्माण गर्ने योजना रहेको संघका अध्यक्ष धर्मानन्द गुरागाईंले जानकारी दिए ।