काठमाडौं । आगामी माघ ७ गतेबाट सुरु हुने महिला लिगमा सहभागी टिमले चार विदेशी खेलाडी राख्न पाउने भएका छन् ।

अखिल नेपाल फुटबल संघ (एन्फा)ले माघको पहिलो साताबाट सुरु हुने महिला लिगमा सहभागी हरेक टिमले चार विदेशी खेलाडी टिममा राख्न र खेलाउन पाउने व्यवस्था गरेको हो ।

एन्फाले महिला लिगमा तीन विभागीय सहित जिल्ला तथा नगरबाट छनोट भएका ४ टिम गरि ७ टिम खेलाउनेछ । यसअघि रुपन्देहीमा भएको छनोटमा आयोजक चन्द्रपुर नगरपालिका, चौदण्डीगढी नगरपालिका, वालिङ नगरपालिका र विराटनगर नगरपालिका प्रतियोगिताका लागि छनोट भएका थिए ।

एन्फाले पहिलो पटक महिला लिगमा समेत विदेशी खेलाडी राख्न पाउने व्यवस्था गरेको छ । यसअघि विकास क्षेत्र र विभागीय टिमलाई समावेश गर्दै महिला लिग सञ्चालन हुदै आएको थियो । एक महिना सञ्चालन हुने लिगका पहिलो र अन्तिम खेल दशरथ रंगशालामा हुनेछ । बाँकी सबै खेल ललितपुरको सातदोबाटोस्थित एन्फा कम्प्लेक्स हुने बताईएको छ ।

हरेक टिममा २३ खेलाडी सहित ७ अफिसियल हुने र सबै टिमलाई बस्ने र खानेको व्यवस्था एन्फाले गर्नेछ । यस्तै एन्फाले प्रतियोगिताका दौरान कोभिड–१९ को शंका लागेमा आईसोलेसनको व्यवस्था र प्रतियोगिता सुरु हुनु अघि पीसीआर टेष्ट आफुले गर्ने जनाएको छ ।

प्रतियोगिताको विजेताले नगद १५ लाख सहित ट्रफी प्राप्त गर्नेछ । दोस्रोले ८, तेस्रोले ५, चौथोले ३ लाख रुपैयाँ प्राप्त गर्ने एन्फाले जनाएको छ । प्रतियोगिताको सर्वोकृष्ट खेलाडीले स्कुटर र हरेक विधाका खेलाडीले जनही ५० हजार रुपैयाँ प्राप्त गर्नेछन् ।

हरेक टोलीले तयारी स्वरुप १ लाख र कोभिडको राहत स्वरुप ५० हजार गरि डेढ लाख रुपैयाँ प्राप्त गर्नेछन् । हरेक खेलको प्लेयर अफ द म्याचले नगद ५ हजार रुपैयाँ पुरस्कार पाउने एन्फाले जनाएको छ । प्रतियोगिता फागुन ७ गतेसम्म सञ्चालन हुनेछ ।