काँकरभिट्टा । प्रधानमन्त्री कप महिला क्रिकेट प्रतियोगिताको विजेता टोली प्रदेश १ लाई नेपाल बहुउद्देश्यीय सहकारी संस्था (एनएमसी) ले सम्मान गरेको छ ।

पुष ११ देखि १९ गतेसम्म दाङको लमहीमा सञ्चालन भएको प्रतियोगिताको फाइनलमा प्रदेश १ ले विभागीय टोली एपीएफलाई पराजित गर्दै उपाधि जितेको थियो ।

राष्ट्रिय टोलीको नेतृत्व गर्ने रुविना क्षेत्रीसँगै अधिकांश राष्ट्रिय टोलीबाट प्रतिनिधित्व गर्ने खेलाडीको वर्चश्व रहेको प्रदेश १ टोलीलाई शुक्रबार एक कार्यक्रमकाबीच एनएमसीको विषयगत खेलकुद उपसमितिको आयोजनामा सम्मान गरिएको हो ।

संस्थाको काँकरभिट्टास्थित कर्पोरेट कार्यालयको सभाहलमा सम्पन्न कार्यक्रममा संस्थाका सञ्चालक समिति अध्यक्ष रामचन्द्र उप्रेती, सञ्चालक समिति सदस्य ठाकुरप्रसाद शिवाकोटी, प्रमुख कार्यकारी अधिकृत लक्ष्मीप्रसाद उप्रेती, एनएमसी खेलकुद उपसमिति संयोजक हरिप्रसाद तिम्सिना, सदस्यहरु खडानन्द खतिवडा, प्रविण थापालगायतले टोलीलाई अबिर, खादा, सम्मानपत्रले सम्मान गरेका थिए ।

सम्मानपछि बोल्दै प्रशिक्षक विरु श्रेष्ठ र कतान रुबिना क्षेत्रीले एनएमसी जस्तो संस्थाले गरेको यस प्रकारकाे सम्मानले खेलकुदमा थप ऊर्जा मिलेको बताए ।

कार्यक्रममा बोल्दै संस्थाका अध्यक्ष रामचन्द्र उप्रेतीले खेलकुदको क्षेत्रमा सधैँ सहयोग गर्न एनएमसी तत्पर रहेको बताए । एनएमसी खेलकुद उपसमिति संयोजक हरिप्रसाद तिम्सिनाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा स्वागत सदस्य प्रविण थापा र सञ्चालन सामुदायिक विभाग प्रमुख हिरन कट्टेलले गरेका थिए ।